Skip

आलुखेतीमा आत्मनिर्भर बन्दै स्याङ्जा

शीतभण्डार संचालनमा आएपछि किसानको मुहार फेरियो

श्रीकृष्ण सिग्देल, प्रकाशित मिति : २०७६ बैशाख ३० सोमबार

स्याङ्जा ।  कुनै बेला आलुको विऊका लागि भारतको भर पर्नु पर्ने अवस्था थियो स्याङ्जामा । मंसिर महिना लाग्ने वित्तिकै स्याङ्जाका किसानहरु आलुको विऊ खोज्न भारत सम्म पुग्नु पर्ने बाध्यतालाई सहज तुल्याईदै छ । स्याङ्जाको गल्याङ नगरपालिका ११ जिमुहामा शितभण्डार संचालनमा आएपछि अब स्याङ्जा आलुखतीमा आत्मनिर्भर बन्ने छ ।

आलुको विऊलाई व्यवस्थापन गर्न यहाँका किसानहरुले शितभण्डार संचालनमा ल्याएका छन् । आलुखेतीको पकट मानिएको गल्याङ नगरपालिका ११ मा आलुको विउ भण्डारण गर्न शितभण्डार संचालनमा आएको छ । मङसीरमा लगाएर फागनुमा प्रतिफल पाईने  आलुको व्यवस्थापन गर्न नसके कुहीएर जाने समस्या हुन्छ । त्यसैले सिजनको ३—४ महिना मात्र पुग्ने गरी आलु लगाउने प्रबृती पछिल्लो पटक स्याङ्जामा बढेको छ । बर्षभरी पुग्ने आलु वा व्यवसायीक आलु खेतीमा यहाँका कृषकहरुको ध्यान जान थालेको छ । तर स्याङजामा आलु बर्षभरीनै बचाएर राख्न सकिने प्रबिधिको बिकाश भएसँगै यहाँका कृषकहरु लाभान्बित भएका छन् ।  

खाने र बिउ आलुको शितभण्डार गर्ने भण्डारण कक्ष संचालनमा आएपछी यहाँका कृषक लाभान्बित भएका हुन् । विश्व बिकाश बैकको सहयोगमा एक करोड सत्र लाखको लागतमा आर्थिक बर्ष ७५—७६ मा निर्माण सम्पन्न भई सेवा प्रदान गर्न थालिएको हो । नेपाल सरकार  सिंचाई तथा जलस्रोत व्यवस्थापनको अनुदान रकम र  आँधिखोला बहुउदेद्दयीय पानी उपभोक्ता संस्थाको सहभागितामा मझौला शित भण्डारण गृहको निर्माण गल्याङ नगरपालिका स्थित जिमुहामा भएपछी खाने आलुदेखी बिउ आलुसम्म यहीँ भण्डारण हुन थालेको छ ।

१ सय ५० मेट्रीकटन श्रमता रहेको भएपनी अहिले प्रचार प्रसारको अभाबमा जम्मा ९० मेट्रीकटन मात्र भण्डारण गरिएको संस्थाका कोषध्यक्ष चक्रपाणी कंडेलले बताए । पहिलो बर्ष भएर होला धेरै किसानहरुले आलु भण्डारण गर्न ल्याएका छैनन् कडेँलले भने अर्को बर्षबाट आलु भण्डारण बढ्ने अपेक्षा लिएका छौं । आलु खाँदा वा बिउ आलु किन्दा ठुलो रकम भारत जाने गरेको अब भारतबाट आलु आयत गर्न नपर्ने उनले बताए । प्रति बोरा ३५० रुपैंयामा ७ महिना सम्म यस शित भण्डारमा आलु राख्न सकिने व्यवस्था भएपछी छिमेकी जिल्ला पाल्पाका समेत कृषक लाभान्बित भएका छन् । आलुको विऊलाई शितभण्डारण गर्न पोखरा र भैरहवा पुग्ने यहाँका किसानलाई शितभण्डार संचालनमा आएपछि आलुखेती लगाउने किसानहरुमा थप उत्साह थपेको किसानहरु बताउछन् ।

४ डिग्री देखि ६ डिग्री सम्मको चिस्यानमा आलुको विऊ राखिने गरेको छ । नियमित विद्युत सेवा प्रवाह नहुदा अत्यन्तै समस्या खेप्न बाध्य भएको किसानहरुको भनाई छ । चौविसै घण्टा विद्युतबाट चिस्याउनु पर्ने भण्डारणमा विद्युत अवरुद्ध हुदा जेनेरेटरको व्यवस्था गरिएको छ । गत बर्ष यहाँबाट देशका बिभिन्न जिल्लामा आलुको बिउ निर्यात भएको संस्थाले जनाएको छ । अब आफ्नै बारीमा उत्पादन भएको आलु र आलुको बिउको प्रयोग गर्न सके भारत जाने गरेको ठुलो रकम स्बदेशमा नै रहने देखिन्छ । ४ सय २४ शेयर सदस्य रहेको शितभण्डार गृह साढे २ रोपनी जग्गामा निर्मित भएको छ । आलुखेतीको पकेट मानिने गल्याङ्को जिमुहामा यहाँका किसानले देखाएको उदाहरणीय कामको स्थानीय सरकारले पनि व्यवस्थापनमा सहयोग गर्नुपर्ने देखिन्छ । 

नयाँ