arrow

राजधानीको माग गर्दै संसद् अवरुद्ध

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
pradesh-3-baithak.jpg

हेटौडा । प्रदेश नं ३ को चौथो वर्षे अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दलले अवरुद्ध गरेको छ । सोमबार वर्षे अधिवेशनको पहिलो बैठकमा हिउँदे अधिवेशनमा नै टुङ्गिनुपर्ने राजधानीको विषयमा टुङ्गो नलागेका कारण संसद् अवरुद्ध गरेको हो ।

 बैठकको शुरुआतमा आफ्नो धारणा राख्ने क्रममा सत्तापक्षका उपनेता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले राजधानी तोक्न अब ढिला गर्न नहुने भन्दै यो राजनीतिक विषय भएको बताए ।

 उनले प्रदेशको राजधानीले ठूलो प्रभाव पार्ने भन्दै यसलाई सहमतिमा नै टुङ्ग्याइने बताए । मन्त्री जम्कट्टेलले नयाँ व्यवस्थासँंगै नयाँ कानूनको अभावले जनताले चाहे अनुरुप कार्य नभएको र कानूनहरु बनिसकेको र बन्ने क्रममा रहेकाले जनताले चाहेको समृद्धि ल्याइने धारणा राखे ।

अधिवेशनलाई शुभकामना दिने क्रममा प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले सरकारले हिउँदे अधिवेशनमा नै राजधानीको विषय टुङ्ग्याउने बचन दिए पनि व्यवहारमा लागू  नगरिएको भन्दै आक्रोश व्यक्त गरे ।

 सांसदहरु सुरेन्द्रराज गोसार्इं, रीता माझी, रीना गुरुङ र प्रेमबहादुर लामाले सरकारले प्रतिबद्धतामा इमान्दारिता नदेखाएकाले अबका दिनमा त्यसो नगर्न सुझाएका थिए ।

बैठक पश्चात पत्रकारको प्रश्नको जवाफ दिँदै प्रतिपक्षी दलका नेता बानियाँले अब प्रदेशको राजधानीको विषय प्रवेश नगराएसम्म संसद् अवरुद्ध गरिने बताए । सत्ता पक्षका उपनेता शालिकराम जम्कट्टेलले संसद् अवरुद्ध गरेर समस्याको हल नहुने र यसले द्वन्द्वमात्र निम्त्याउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ