प्रदेश ३ मा जाग्यो प्रतिपक्षः राजधानीको माग गर्दै संसद् अवरुद्ध    

प्रकाशित मिति : २०७६ बैशाख ३१ मंगलबार

हेटौँडा । प्रदेश नं ३ को चौथो वर्षे अधिवेशनको पहिलो बैठक प्रतिपक्षी दलले अवरुद्ध गरेको छ । सोमबार वर्षे अधिवेशनको पहिलो बैठकमा हिउँदे अधिवेशनमा नै टुङ्गिनुपर्ने राजधानीको विषयमा टुङ्गो नलागेका कारण संसद् अवरुद्ध गरेको हो । 

बैठकको शुरुआतमा आफ्नो धारणा राख्ने क्रममा सत्तापक्षका उपनेता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले राजधानी तोक्न अब ढिला गर्न नहुने भन्दै यो राजनीतिक विषय भएको बताए । 

 उनले प्रदेशको राजधानीले ठूलो प्रभाव पार्ने भन्दै यसलाई सहमतिमा नै टुङ्ग्याइने बताए । मन्त्री जम्कट्टेलले नयाँ व्यवस्थासँंगै नयाँ कानूनको अभावले जनताले चाहे अनुरुप कार्य नभएको र कानूनहरु बनिसकेको र बन्ने क्रममा रहेकाले जनताले चाहेको समृद्धि ल्याइने धारणा राखे । 
     
 अधिवेशनलाई शुभकामना दिने क्रममा प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले सरकारले हिउँदे अधिवेशनमा नै राजधानीको विषय टुङ्ग्याउने बचन दिए पनि व्यवहारमा लागू नगरिएको भन्दै आक्रोश व्यक्त गरे । 

सांसदहरु सुरेन्द्रराज गोसाइँ, रीता माझी, रीना गुरुङ र प्रेमबहादुर लामाले सरकारले प्रतिबद्धतामा इमान्दारिता नदेखाएकाले अबका दिनमा त्यसो नगर्न सुझाएका थिए । 

बैठक पश्चात पत्रकारको प्रश्नको जवाफ दिँदै प्रतिपक्षी दलका नेता बानियाँले अब प्रदेशको राजधानीको विषय प्रवेश नगराएसम्म संसद् अवरुद्ध गरिने बताए ।

सत्ता पक्षका उपनेता शालिकराम जम्कट्टेलले संसद् अवरुद्ध गरेर समस्याको हल नहुने र यसले द्वन्द्वमात्र निम्त्याउने बताए । 

नयाँ