arrow

यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
school-n-yarsa-sport.JPG.jpeg

यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

डोल्पा । यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलनन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको हो ।

पाटनमा हुने अवैध तस्करी रोक्नका लागि जिल्लाका विभिन्न यार्सागुम्बा पाटनमा ठूलोे सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटाइएको छ । निकुञ्जभित्र पर्ने यार्सा पाटनमा गस्तीका लागि नेपाली सेना खटाइएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

जेठ १३ मा मात्रै यार्सागुम्बा संकलननका लागि यार्सा पाटन खुल्ला गर्ने निर्णय भएकाले यसअघि अवैधरुपमा पाटन छिर्ने जो कोहीलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने भोक्पा, भाङ्का, सागबारी, कुनासालगायतका यार्सा पाटनमा सेनाले गस्ती गरिरहेको छ ।

निकुञ्जका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पर्ने यार्सा पाटनमा पनि सुरक्षा व्यवस्था कडाइ गरिएको छ । ठूलीभेरी नगरपालिकाअन्तर्गतका माझफाल, थरगाउँ, दुरगाउँ, तालीमा पर्ने विभिन्न यार्सा पाटनमा सुरक्षा व्यवस्था कडाइ पारिएको छ ।

यार्सागुम्बाको औपचारिक रुपमा संकलनन गर्ने समय अगावै चोरी निकासी नहोस् भनेर मेली सामुदायिक वनअन्तर्गतका रुपपानी, माजडाँडा, फुर्के, ज्ञाने, माजगाडीलगायतका दर्जनाँै यार्सागुम्बा पाटनमा स्थानीय युवा र सशस्त्र प्रहरीले सामूहिक गस्ती गरिरहेको छ । जिल्ला प्रवेश गर्ने यार्सा पाटनका नाकामा समेत विशेष कडाइ गरिएको समितिले जनाएको छ ।

विगतका वर्षमा पाटन खुल्नुअगावै तस्करले समूह बनाएर यार्सागुम्बाको अवैध चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न २८ गतेदेखि स्थानीय र सशस्त्र प्रहरी मिलेर गस्ती शुरु गरेको स्थानीय युवा सुशील बुढाले बताए । अघिल्ला वर्षमा स्थानीय गस्ती टोली र यार्सा तस्करबीच गोली हानाहानसम्म हुने र स्थानीय त्रसित हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए ।

मेली सामुदायिक वन क्षेत्रमा लेकको बाटोबाट प्रवेश गर्ने अधिकांश रुकुमेली सर्वसाधारण हुने गर्दछन् । यस वन क्षेत्रमा करीब २०० देखि ३०० किलोसम्म यार्सागुम्बा पाइने अनुमान गरिएको छ ।

यार्सागुम्बा संकलननका लागि बीसौँ हजार सर्वसाधारण डोल्पाका यार्सा पाटनमा पुग्ने गर्दछन् । डोल्पाली मात्रै नभई छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला, मुगुलगायतका मान्छेका लागि आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा संकलनन हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ