arrow

मन्त्री भेटेपछि श्रमिक विश्वस्त

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
gokarna-bistas.jpg

इलाम । “नयाँ होइन, सरकारले तोकेको नियम अनुसारको ज्याला मात्र मागेका हौँ, त्यहीँ माग गर्दा कारखानाले तलब दिएन”, यहाँस्थित इलाम चिया कमानकी श्रमिक सरस्वती चम्लागाईंले भनिन् । गत चैत १७ देखि आन्दोलनरत चिया श्रमिकले आज चिया कमानमा श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टसँग गरेको गुनासो हो ।

“हामीले यही फ्याक्ट्रीमा काम गरेको १९ वर्ष भयो, कहिले रु १० कहिले रु २० ज्याला बढ्छ । सधैँ सहेरै बसेका छौँ, राज्यले तोकेको ज्याला पाउन पनि कति गाह्रो भो, नयाँ कानून आएपछि त नयाँ ज्याला दिनुपर्छ होइन र ?”, उनले मन्त्री विष्टसँग न्यायिक जिज्ञासा राखिन् । कारखाना व्यवस्थापनले भनेअनुसार नै आफूहरु खटिएको उल्लेख गर्दै चम्लागाईँले भनिन्, “बिहान ४ बजेदेखि कहिले ३ बजेदेखि नै टर्चर् बालेर काम गरेका छौँ, हामीलाई कामप्रति माया छ, सित्तैमा ज्याला मागेको त होइन नि ?”

यो आवाज चम्लागाईंको मात्र होइन, यहाँका सरकारी तथा निजी कारखाना र बगानका श्रमिकको आवाज हो । नयाँ श्रम ऐनअनुसार आफूले ज्याला पाउनुपर्ने भन्दै आन्दोलन नै गर्नुपरेको गुनासो श्रमिकको छ । सरकारले गत साउन १ देखि लागू हुनेगरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला ३८५ रुपैयाँ तोकेको छ र उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक ४२ रुपैयाँ थपेर ४२७ रुपैयाँ ज्याला तोकिएको छ तर नयाँ श्रम ऐनअनुसार आफूले ज्याला नपाएपछि श्रमिक गुनासो गर्दै नियमअनुसार ज्याला पाउनुपर्ने माग गर्दै आन्दोलनमा निस्किएका थिए ।
 
न्यूनतम ज्यालाकै माग गर्दै श्रमिकले कहिले थाल पिटेर आन्दोलन गरे भने कहिले तातो भूइँमा सुतेर माग पूरा गर्न आग्रह गरे तर पनि माग पूरा हुन नसकेपछि श्रममन्त्रीले एक साताअघि २४ घण्टे अल्टिमेटम दिएर चिया उद्योगीलाई ‘तोकिएको ज्याला दिन नसक्नुका कारण प्रष्ट पार्न’ अनुरोध गरे। त्यसपछि पनि झापा र इलामका निजी तथा सरकारी चिया कारखाना खुले पनि केही कारखाना बन्दको बन्दै रहे ।

शुक्रबार बिहान श्रममन्त्री गोकर्ण विष्टले नै सरकारले तोकेबमोजिमको ज्याला श्रमिकलाई दिन उद्योगलाई निर्देशन दिएपछि पूर्णरूपमा श्रमिक काममा फर्किने भएका हुन् । “हामी नयाँ नियमअनुसार श्रमिकलाई ज्याला दिनेछौँ तर केही समय लाग्छ”, सरकारी चिया बगान भाडामा लिएका साङ्घाईं ग्रुपका अध्यक्ष सुवास साङ्घाईंले भने, “राम्रो आम्दानी छैन तर पनि ज्याला दिन्छौँ, मालिक बाँचे श्रमिक बाँच्ने हो र श्रमिक बाँचे मालिक बाँच्ने हो ।”

मन्त्री विष्ट अनुगमनमा चिया बगान पुग्नासाथ त्यहाँ पुगेका उद्योगका मालिक साङ्घाईंले सरकारको कानूनविपरीत काम गर्न नखोजेको तर चियाको आम्दानी कम हुने भएकाले नयाँ नियमअनुसार ज्याला दिन नसकेको बताए । उनले पछिल्लो समय इलामका केही बगान मासिनेक्रम बढेको र चिया मर्दै गएकाले आम्दानी घटेको बताए । उनले साङ्घाईंले कानूनअनुसार ज्याला दिन आफू तत्पर रहेको बताए।

श्रममन्त्री विष्टले कानूनअनुसार ज्याला श्रमिकले पाउनुपर्ने र सरकार यसमा प्रतिबद्ध रहेको प्रष्ट पारे । “तपाईं (श्रमिक)हरूको गुनासो मैले बुझेको छु, तपाईंहरू ठुक्क हुनुहोस्, समस्या समाधान हुन्छ”, मन्त्री विष्टले भने, “हजारौँलाई रोजगार दिने, राष्ट्रलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन सहयोग गर्ने र हरियाली बनाउने चियाको समस्या समाधान गर्न हामी पनि लागि पर्छौं ।” उनले रोजगारदाता र उद्योगीकोसमेत समस्या बुझेकाले सबै पक्षको सम्बोधन हुने प्रष्ट पारे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ