arrow

आणविक सम्झौतालाई बचाउन चीन र रूसको ‘ठोस पहल’का लागि इरानको आग्रह

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
iran-china-meet-2019.jpg

इरान। इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताएका छन्। उनले अमेरिका र इरानबीचको बढ्दो तनावले ‘खतरनाक’परिस्थिति निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

इरानबाट सुरक्षा खतरा भएको दावी गर्दै अमेरिकाले गत हप्ता खाडी क्षेत्रमा अमेरिकी वमबर्षक विमान बी–५२ तैनाद गरेपछि अमेरिका र इरानबीचको तनावले थप चर्को रूप लिएको हो। बेइजिङ भ्रमणका क्रममा इरानी विदेशमन्त्री जरीफले आफूले चिनियाँ अधिकारीसँग “द्विपक्षीय सम्बन्ध तथा मध्यपूर्व क्षेत्रमा अहिले देखिएका ‘निकै खतरनाक बिषय’ बारे वार्ता गर्ने” बताएको इरानी विदेश मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको थियो।

रणनीतिक हिसाबले विश्वकै महत्वपूर्ण जलमार्ग मध्यपूर्वमा इरानले साना तथा परम्परागत डुङ्गाहरूमा इरानले क्षेप्यास्त्रलाई तयारी अवस्थामा राखेको तस्वीर भेटिएको जनाउँदै वासिङ्टनले खाडी क्षेत्रमा धेरै सैन्य समूह तैनाद गरेको समाचारमा जनाइएको छ।

अमेरिकी विदेश विभागले गत बुधबार इराकस्थित आफ्नो राजदूतावास तथा महाबाणिज्य दूतावासमा इरानी निर्देशनमा शिया लडाकूले आक्रमण गर्नसक्ने भन्दै कार्यालय खाली गरी धेरैजसो अधिकारीलाई अन्यत्र लग्न निर्देशन दिएको थियो। इरानले बिहीबार अमेरिकासँग वार्ता नगर्ने बताएको थियो तर उसले आफ्नो पक्षबाट ‘अधिकतम लचकता’ देखाएको बताएको थियो।

मध्यपूर्वमा बढ्दो तनावबीच इरानी विदेशमन्त्री जरीफले अन्तर्राष्ट्रिय समुदायसँग ‘जोइन्ट कम्प्रेहेन्सिभ प्लान अफ एक्सन–२०१५’ नामक आणविक सम्झौतालाई जोगाउन आग्रह गरेका छन्। सम्झौता चीन, रूस, जमर्नी, बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकासँग पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा गरिएको थियो। जसका कारण इरानमाथि त्यस पहिले लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धलाई विस्तारै सहज बनाउँदै लगिएको थियो।

तर गत बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता अमेरिकालाई मान्य नहुने भन्दै यसबाट फिर्ता भएको घोषणा गरेका थिए। सम्झौताबाट फिर्ता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको प्रतिबन्धका साथै थप नयाँ प्रतिबन्धको समेत घोषणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ