मध्यपूर्वमा चलिरहेको द्वन्द्वको बीचमा साउदी ट्यांकरमाथि आक्रमण
एजेन्सी,
प्रकाशित २०७६ जेठ ४ शनिबार
379
Shares
काठमाडौं। साउदी अरेबियाले पर्सियन खाडीतर्फ गइरहेको आफ्ना दुई ट्यांकरमाथि आक्रमण भएको बताएको छ। इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धले मध्यपूर्वमा बढाइरहेको तनावको बीचमा साउदीले यस्तो बताएको हो।
गत आइतवार साउदी अरेबियाले आफ्ना ट्यांकर यूएईको सागरमा आक्रमणमा परेको बताएको हो। उक्त सवारी स्ट्रेइट अफ हर्जमुजतर्फ अघि बढिरहेको थियो। यो विश्वको सबैभन्दा महत्वपूर्ण तेलको चेक प्वइन्ट हो।
यूएईको विदेशमन्त्रालयले आफ्नो क्षेत्रको सागरनजिकै चार व्यवसायिक विमानमाथि आक्रमण भएको बताएको हो। अहिलेसम्म यो घटनाको जिम्मेवारी भने कसैले लिएको छैन। अहिलेसम्म यो घटनाको विषयमा सत्यतथ्य भने बाहिर आउन सकेको छैन। साउदी अरेबिया र यूएईले वास्तवमा नै यसो भएको हो भनेर भन्न सकेका छैनन्। तर, यो प्रतिवेदन खाडी क्षेत्रमा तनाव बढ्दो क्रममा रहेको अवस्थामा आएको हो।
अमेरिकाले बमबर्षक विमानसहितको विमान वाहक जहाज र सुरक्षा मिसाइल यो क्षेत्रमा पठाएको छ। इरान र साउदी अरेबियाको बीचमा विवाद बढ्दो क्रममा रहेकोमा अमेरिकाले उक्त विमान पठाएको हो।
साउदी ऊर्जामन्त्री खलिद अल फलिहले यो घटनाको उद्देश्य जलसेनाको स्वतन्त्रता र तेल आपूर्तिको सुरक्षालाई निरुत्साहित गर्ने लक्ष्यका साथ गरिएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय समुदायले पनि यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ। यस किसिमको आक्रमणले आगामी दिनमा विश्व अर्थतन्त्रमा नै चुनौती थप्ने उनले बताएका हुन्।
अमेरिका र इरान बीचको दूरी पुनः बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल आयातमा यसअघि दिँदै आएको छूटको समय नबढाउने निर्णय गरेसँगै दुई मुलुकबीचको विवाद बढेको हो। इरानले स्ट्रेइट अफ हर्मुजबाट तेल आपूर्ति रोक्ने चेतावनी दिएको थियो। अमेरिकाले आफ्नो निर्णय फिर्ता नलिएको खण्डमा सो क्षेत्रबाट तेल आपूर्ति नहुने इरानको चेतावनी छ। इरानले भने यो आक्रमणको निन्दा गर्दै यो क्षेत्रको सुरक्षा र स्थायित्वमाथिको प्रहार भएको बताएको छ।
अस्थिर तेलको भाउ
तेलको भाउ गत महिनादेखि घट्दो क्रममा छ। साउदी अरेबियाले इरानी तेलको अभाव पूरा गर्नसक्ने स्पष्ट संकेत नदेखिएको र अमेरिका–चीनबीचको व्यापारिक युद्ध जारी रहेको अवस्थाको प्रभाव तेल बजारमा देखिएको हो।
बढ्दो भू–राजनैतिक तनावको कारण त्यसको प्रभाव खाडी क्षेको शेयर बजारमा पनि देखिएको थियो। गत साता दुबईको शेयर परिसूचक १ दशमलव ५ प्रतिशतले घटेको थियो। साउदी अरेबियाले शेयर परिसूचक पनि मार्च १७ यताकै कमजोर अवस्थामा पुगेको छ। यूएईको विदेशमन्त्रालयले तेलको ट्यांकरमाथि भएको आक्रमणको विषयमा अहिले अनुसन्धान भइरहेको जानकारी दिएको छ। उक्त आक्रमणमा कुनै मानवीय क्षति भने नभएको बताइएको छ।
तेल ट्यांकरमाथिको आक्रमण
खाडी क्षेत्रमा सन् १९९१ देखि निरन्तररुपमा आक्रमण हुँदै आएका छन्। साउदी अरेबियाले स्ट्रेइट अफ हर्मुजबाट तेल निर्यात गर्दै आएको छ। इराक र इरानबीच देखिएको द्वन्द्वको अवस्थामा पनि साउदीले सो क्षेत्रबाट तेल आपूर्ति गरेको थियो। त्यतिबेला दुवै मुलुकले खाडी क्षेत्रमा तेल ट्यांकरमाथि आक्रमण गर्ने गर्थे।
सन् २०१० मा जापानी ट्यांकरमाथि पनि बम आक्रमण भएको थियो। यो आक्रमण यूएईको सागरभन्दा २२ किलोमिटर टाढा भएको थियो। एक चरमपन्थी जिहादिस्ट समुहले सो आक्रमणको जिम्मेवारी लिएको थियो। स्ट्रेइट अफ हर्मुजले खाडी क्षेत्रलाई हिन्द महासागरसँग जोड्ने गरेको छ। इरान उत्तरमा छ भने यूएई र ओमान त्यसको दक्षिणमा छन्। यो तेल आपूर्तिको लागि सबैभन्दा महत्वपूर्ण क्षेत्र हो। प्रत्येक दिन विश्वभर हुने तेल कारोबारमा यो क्षेत्रले ४० प्रतिशतले हिस्सा ओगट्ने गरेको छ।