arrow

अमेरिका–चीन व्यापारयुद्ध, को बढी मारमा ?  

logo
एजेन्सी,
प्रकाशित २०७६ जेठ ४ शनिबार
trade-war-2019.jpg

काठमाडौं। अमेरिका–चीनबीचको व्यापारयुद्ध पछिल्लो समय चुलिएको छ। दुवै मुलुकले एकअर्काका लागि अघि सारेको आयातकर बढाउने योजनासँगै व्यापारयुद्ध थप चुलिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले तोकेको आयातकर बुझाउनुपर्ने शर्त चीनसंग राखेका छन्। तर, उनका आर्थिक सल्लाहकारले भने अमेरिकाले लगाएको आयातकरको भार अमेरिकी कम्पनीले बुझाउनुपर्ने भन्दै सो कदमको आलोचना गर्दै आएका छन्। 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको आयातकरको विषयमा विवाद बढेको छ। के अमेरिकाले लगाएको आयातकर ठीक हो ? अहिलेको व्यापारयुद्धबाट सबैभन्दा बढी नोक्सानी कसलाई होला ? भन्ने प्रश्नहरु तेर्सिएका छन्।

अमेरिकाको आयातकरको बिल कसले तिर्नुपर्छ ? 
अमेरिकाले लगाएको आयातकर चिनियाँ कम्पनीहरुले तिर्नुपर्दैन। यो कर अमेरिकी आयातकर्ताले तिर्नुपर्ने रकम हो। अमेरिकाका वरिष्ठ वकिल क्रिस्टोफ बोन्डेले बताए। उनका अनुसार यस किसिमको खर्चको मार अमेरिकी उभोक्तालाई पर्नेछ। आयातकर्ताले बुझाएको चर्को आयातशुल्कको मारले अमेरिकामा सामग्रीको भाउ बढ्नेछ। उनका अनुसार यसले आयात निर्यात व्यापारको सन्तुलनमा पनि नकारात्मक असर पार्नेछ। 

चीनलाई कस्तो प्रभाव
चीन अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध रहेको मलुक हो। गत वर्ष अमेरिकाको चीन निर्यात ७ प्रतिशतले बढेको थियो। तर, यस वर्षको शुरुवाती तीन महिनामा अमेरिकाको आयात ९ प्रतिशतले घटेको छ। यसले व्यापारयुद्धको प्रभाव बजारमा देखिन शुरु भएको देखाएको छ।

यसका बाबजुद व्यापार विद् मेरेडिथ क्रोलीले अमेरिकी कम्पनीले आयात जारी राखून् भन्ने उद्देश्यले आफ्नो मूल्य भने नघटाएको बताएका छन्। त्यसका बाबजुद कही निर्यातकर्ताले अमेरिका पठाउँदै आएको सामग्री अर्को मुलुकमा निर्यात गर्न थालेका छन्। चिनियाँ कम्पनीको नाफा र लागतबीचको अन्तर निकै कम छ। जसको कारण अमेरिकाको करले उनीहरु प्रभावित बन्न पुगेका छन्।

त्यसैले चिनियाँ कम्पनी आफ्नो मूल्य घटाउने पक्षमा छैनन्। त्यसका साथै अमेरिकी आयातकर्ता पनि चिनियाँ कम्पनीहरुमा निकै हदसम्म निर्भर रहेको कारण पनि टसमस नहुने पक्षमा छन्।

अमेरिकामा प्रभाव
दुई शैक्षिक अध्ययनका अनुसार गत वर्ष लगाइएको करको अधिकांश रकम अमेरिकी व्यावसाय तथा उपभोक्ताले बुझाएका थिए। अमेरिकी केन्द्रीय बैंकका अर्थविद्ले अमेरिकी कम्पनी र उपभोक्ताले प्रतिमहीना ३ अर्ब डलरको थप कर बुझाउनुपरेको बताएका छन्। त्यसका साथै मागमा आएको कमीको कारण एक अर्ब ४० करोड डलरको थप नोक्सानी भएको छ। विश्लेषकका अनुसार अमेरिकामा कृषि क्षेत्र यो व्यापारयुद्धको कारण सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ।

अमेरिकी कम्पनीले अर्को मुलुकबाट सामग्री किन्दैनन् ?
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट सामग्री खरिद गरिरहेका कम्पनीले भियतनाम वा अमेरिकी उत्पादकबाट नै अयात गर्नु राम्रो हुने बताउँदै आएका छन्। तर, यो त्यति सजिलो नरहेको विश्लेषकको भनाइ छ। उनीहरुका अनुसार यसका लागि निकै लामो समय लाग्ने बताएका छन्। त्यति सजिलै अहिलेको व्यापारिक संरचना परिवर्तन गर्न निकै गाह्रो हुने उनीहरुको भनाइ छ। गत वर्ष अमेरिकाले चीनको स्टिलमा कर बढाउने निर्णय गर्‍यो। यसको अर्थ तत्कालै अमेरिकामा सयौं स्टिल कम्पनी खुल्छन् भन्ने होइन। त्यसका लागि केही समय लाग्छ। 

व्यापारयुद्धले कस्तो काम गरेको छ ? 
व्यापारयुद्धको प्रभाव विश्व बजारमा केही मात्रामा देखिएको छ। सन् २००९ मा बाराक ओबामाले चिनियाँ टायरमा ३५ प्रतिशत कर लगाउने निर्णय गरेका थिए। अमेरिकी रोजगारी जोखिममा परेको भन्दै उनले यस्तो घोषणा गरेका थिए। तर, सन् २०१२ मा सार्वजनिक भएको एक अध्ययनको विवरणले भने सन् २०११ मा अमेरिकी उपभोक्ताले त्यसका लागि एक अर्ब १० करोड डलरको मुल्य थप तिर्नुपरेको पाइएको थियो। यसका बीच १२ सय रोजगारी भने बनेको थियो। त्यसका साथै अमेरिकी उपभोक्ताले खुद्रा सामग्रीको खर्च पनि घटाएका थिए। यसले खुद्रा उद्योगको रोजगारीमा सुधार देखिएको थियो। 

अहिले पनि अमेरिकाले लगाएको अतिरिक्त शुल्कको मार अमेरिकी उपभोक्तालाई पर्नसक्ने देखिएको छ। यसअघि अमेरिकामा रोनाल्ड रेगनको पालामा पनि सन् १९८३ मा जापानी मोटरसाइकलमा पनि अत्यधिक कर लगाउने निर्णय गरिएको थियो। यसले अमेरिकी कम्पनीको विकासमा ठूलो धक्का पुगेको केहीले बताएका छन्।

आयातकरले सम्झौता गर्न चीनलाई बाध्य बनाउला ? 
क्रोलीका अनुसार यस किसिमको आयातकरले चीनलाई वार्ताको टेबुलमा ल्याउनेछ। चीनको अर्थतन्त्र पछिल्लो समय सुस्ताएको छ। अमेरिकासँग पनि चीनको निर्यात व्यापार उल्लेख्य हुने गरेको छ। यस्तोमा चीन व्यापार युद्धबाट नराम्ररी प्रभावित भएको देखिएको छ। तर, चीन भने आफ्नो नियम परिवर्तन गर्ने सोचमा छैन। यदि कुनै सम्झौता भएको खण्डमा  पनि त्यो पालना हुने वा नहुने भन्ने विषयमा आशंका कायम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ