arrow

भारतमा अन्तिम चरणको मतदान, मोदीको भाग्य फैसला हुँदै

मैदानमा शत्रुघन सिन्हा, रविकिशन र सनी देओल पनि 

logo
प्रकाशित २०७६ जेठ ५ आइतबार
bote.jpg

काठमाडौं । भारतमा चलिरहेको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणको मतदान आइतबार बिहानदेखि भइरहेको छ । 

आठ राज्यका ५९ सिटमा मतदान भइरहेको हो । यो चरणमा भारतीय प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी पनि चुनावी मैदानमा छन् । 

मोदीसहित ९१८ जना चुनावी मैदानमा आफ्नो भाग्य खोजिरहेका छन् । ५९ सिटमा पंजाब राज्यबाट १३, हिमांचल प्रदेशबाट ४, उत्तरप्रदेशबाट १३, बिहारबाट ८, पश्चिम बंगालबाट ९, मध्यप्रदेशबाट ८, झारखण्डबाट ३ तथा चन्डिगढबाट १ सिटमा चुनाव भइरहेको हो । 

यसअघि ६ चरणमा ५ सय ४३ मध्ये ४८३ सिटका लागि मतदान भइसकेको छ । 

यो ५९ सिटमा सन् २०१४ मा एनडीएले ४० सिट जितेको थियो । यो चरणमा सन् २०१४ मा ६४.५३ प्रतिशत मत खसेको थियो । 

मोदीसहित हालै काँग्रेस प्रवेश गरेका बलिउड अभिनेता शत्रुघन सिन्हा, केन्द्रीय मन्त्री रविशंकर प्रसाद, अनुराग ठाकुर, भोजपुरी अभिनेता रविकिशन, बलिउड अभिनेता सनी देओल, हरसिमरत कौर लगायतका उम्मेदवार मैदानमा छन् । 

यो चुनाव सकिएपछि बिहीबार २३ तारिखमा मतगणना हुँदैछ । नरेन्द्र मोदीको भाजपाले यसपटक पनि बहुमत ल्याउने अपेक्षा गरिएको छ । 

यता पश्चिम बंगालमा हरेक चरणमा जस्तै यो चरणमा पनि हिंसा भएको छ । भाटपान्डामा गाडीहरु फुटाइएको छ भने बम पनि विष्फोट भएको छ । 

मतदान गर्नुअघि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्दिरमा पूजासमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ