arrow

आरोही ‘किङ्ग’ कामिरिताको अर्को सफलता, २४ पटक सगरमाथाको चुचुरोमा

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
kamirita-sherpa.JPG

काठमाडौं । गत जेठ १ गते २३ औं पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथाको शिखरमा पुग्ने कीर्तिमान बनाएका आरोही कामिरिता शेर्पाले एक हप्ता नबित्दै नयाँ कीर्तिमान बनाएका छन् । मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथा शिखरमा पुगेको सगरमाथाको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्रश्रेष्ठले जानकारी दिए । 

यो याममा सगरमाथाको आरोहण गत वैशाख ३१ गतेदेखि शुरु भएको थियो । आरोहणको दोस्रो दिन जेठ १ गते कामिरिता शेर्पाले सगरमाथाको २३ औँ पटक आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए । 

२४ औँ पटकको सगरमाथा आरोहणका लागि ४९ वर्षीय कामिरिता सोमबार सगरमाथाको चुचुरोतर्फ लागेका थिए । आरोहणका शुरु भएयताको तीन दिन भने मौसम खराबीले आरोहण हुन सकेको थिएन । 

सोमबार रातिदेखि आरोहण नियमित भएको हो । मौसममा सुधार आएकाले एकै पटक चुचुरोतिर जानेको भीड लागेको सम्पर्क अधिकृत श्रेष्ठले बताए । 

सगरमाथा सहितका हिमाल आरोहण गर्न यो याममा ११३ आरोही समूहका ८६८ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ४४ आरोही समूहका ३ सय ८१ आरोही गन्तव्यतर्फ गएका छन् । 

ती मध्ये ३७ विदेशी र ७ नेपाली आरोही समूह छन् । यो सिजनको सगरमाथा आरोहणबाट मात्र सरकारले ४४ करोड रुपैयाँभन्दा बढी सलामी दस्तुर कमाएको छ । 

सगरमाथा सहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका छन् । यो यामको हिमाल आरोहणबाट करीब ५० करोड सलामी दस्तुर जम्मा भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ