काठमाडौं । मधेस आन्दोलनका क्रममा भएको दमनको विरोधमा यसपटक मधेसी मोर्चाले तराईमा होली नमनाउने बताएको छ । मोर्चामा आवद्ध सात वटै दलले सोमबार संयुक्त विज्ञप्ती प्रकाशन गर्दै आन्दोलनमा राज्यले गरेको दमनका क्रममा ५६ आन्दोलनकारीको निर्मम नरसंहार भएको भन्दै शोकको यस्तो अवस्थामा होली नमनाउने घोषणा गरेका हुन् ।
यद्यपि, विज्ञप्तीमा उनीहरुले, ‘मधेशी, थारु, आदिवासी जनजाती, मुस्लिम, दलित, पिछडावर्गसहित देशका सम्पूर्ण दाजुभाई–दिदीबहिनीहरुमा स्नेह, सद्भाव र मिलनको महान सांस्कृतिक पर्व होलीको अवसरमा हार्दिक मंगलमय शुभकामना– भनेका छन् ।
विज्ञप्तीमा, ‘हाम्रो संघर्षका क्रममा ६० बढी आन्दोलनकारीहरुको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अवस्थामा होली मनाइदैन । होलिका दहन झै, यस वर्षको होली उच्चचावादी, अहंकार, वर्चस्ववाद र दानवी प्रवृतिबाट ‘राज्य’लाई मुक्ति देओस् –भनिएको छ । मोर्चाले होलीपछि संघर्षका कार्यक्रम घोषणा गर्ने जानकारी समेत गराएको छ ।