arrow

प्राकृतिक स्रोतको अव्यावहारिक दोहनले जैबिक बिबिधतामा चुनौति थपिदै

जैविक विविधतामा नेपाल विश्वको २५ औँ स्थानमा

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
chure.jpg.jpeg

काठमाडौं। जैविक विविधताले भरिपूर्ण देश नेपालमा वनसंगै वनस्पति, वन्यजन्तु, चराचुरुङ्गीको संरक्षणमा पछिल्लो समय चुनौती थपिदै गएको छ। वनक्षेत्रको खण्डीकरणसँगै देखिएका विविध चुनौतीले बाघ, गैंडालगायतका वन्यजन्तुको संरक्षणमा चुनौती थपिएका वन विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले बताए।

बाघको संख्या नेपालमा सन् २०२२ सम्म दोब्बर बनाउने योजना राष्ट्रिय निकुञ्ज विभागको छ। तर बासस्थानको कमी र आहरा प्रजातिको जनावरहरू मासिनाले बाघ संरक्षणमा चुनौती थपिएको छ। यसैगरी नेपालमा पाइने बिभिन्न जडिबुटी अहिले संरक्षणका अभावमा मासिदै गएका छन। तराईमा पाइने जडीबुटी सर्पगन्धा, भ्याकुर, सुनगाभा र अर्किडका बिरुवा उमार्नुपर्ने अवस्थामा पुगेको वनस्पति विज्ञ तथा प्राज्ञ तीर्थबहादुर श्रेष्ठले बताए।जडीबुटी संकलनमा संरक्षणको नीति अवलम्बन नगरिँदा नेपालका मौलिक वनस्पति मासिँदै गएको बनस्पतिबिदहरुले दुखेसो पोखेका छन्। 

प्राकृतिक स्रोतको तीव्र र अव्यावहारिक दोहनले जैबिक बिबिधतामा चुनौति 
ढुङ्गा, गिटी, बालुवा, जल, वनक्षेत्र जस्ता प्राकृतिक स्रोतको तीव्र र अव्यावहारिक दोहनले पनि जिवजन्तु तथा चराको संख्या घटदै गई नयाँ चुनौती थपिदै गएको छ। जङ्गलमा बस्ती र पूर्वाधार बनाउँदा वन्यजन्तुको वासस्थान अतिक्रमण हुँदा मानव वन्यजन्तुको द्वन्द्वसमेत विकराल बन्दै गएको विभागले जनाएको छ।

विभागले मानव हस्तक्षेप रोक्न पूर्वाधार निर्माण तथा संरक्षण क्षेत्र प्रयोगको मापदण्ड तथा निर्दे्शिका बनाउने तयारी गरिरहेको छ। 

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा.सिन्धुप्रसाद ढुङ्गाना जैविक विविधतामा पछिल्लो समय विविध प्रकारका चुनौती देखा परेको स्वीकार गर्छन्। जलवायु परिवर्तनको असर, वन्यजन्तु चोरी शिकारी र अन्तर्रा्ष्ट्रिय ब्यापारका कारण जैविक विविधता संरक्षणमा चुनौती थपिएको छ। 

कृषिक्षेत्रमा आएको विविधताले रैथाने जात लोप हुँदै गएको त्रिविका वनस्पतिशास्त्र केन्द्रिय बिभागका पूर्व प्रमुख तथा नेपाल जनजाति वनस्पति समाजका अध्यक्ष प्रा. डा.  कृष्ण कुमार श्रेष्ठले बताए। 

नेपाल जैविक बिबिधता महासन्धीको पक्ष राष्ट्र भएको २५ बर्ष 
कानुनत नेपालमा भने जैविक विभिदतालाई वातावरण संरक्षण ऐन२०५३ अनुसार ब्याख्या गरिदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगतप्रणालीको विविधता भन्ने बुझिन्छ। जैविक विविधतासँगै समग्र पारिस्थतिकीय प्रणालीको नियमन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग २०३७ सालमा स्थापना भयो। संरक्षण कार्यमा स्थानीय बासिन्दालाई अर्थपूर्ण सहभागी गराउन २०४९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लाई चौथो संशोधन गरी मध्यवर्ती क्षेत्र व्यवस्थापन कार्यक्रम लागू गरिएको विभागले जनाएको छ।

नेपाल जैविक बिबिधता महासन्धीको पक्ष राष्ट्र भएको अहिले २५ बर्ष भइसकेको छ। सन २०१० मा नागोया प्रोटोकल भन्ने जापानको नागोया शहरबाट एउटा अन्तराष्टिय अनुबन्ध पारीत भएको थियो। जस अनुसार प्रत्येक देशमा भएका जैविक विविधता, स्रोत, सम्पत्तिको अभिलेख राख्ने र त्यसबाट प्राप्त हुने लाभमा कसको पहुच र हक लाग्छ भन्ने हक स्थापित गरिदिने नाममा अभिलेखिकरणलाई राख्न सकिन्छ। हाम्रो मुलुकमा रहेको जैबिक स्रोत सम्पत्ति जस्तो धान, मकै, हात्ति, गैडा लगायतका छन्। तिनीहरुको बारेमा हाम्रो समाजमा रहेको ज्ञान सिप छन।

जस्तो मर्चा बनाउने, माछाबनाउने, औषधी उपचारका बिभिन्न पद्धती छन र तीनमा आधारीत रहेर अन्तराष्टिय जगतमा भयानक क्यान्सर रोग निको पार्न सक्ने औषधी उपलब्ध हुदै आएको सन्र्दभमा यसको डाटा राख्न आबश्यक छ। किनकी यस्ता सिपहरु नया पुस्ताले जानकारी राखेन भने बुढापाखाले जानेका यस्ता सिपहरु उनीहरुसंगै हराउदै जानेछन। त्यसैले नेपालमा सरकारी गैरसरकारी निकाय मिलेर अभिलेखिकरण तयार गरिएको छ। अब यसलाई कार्यावयनका लागी कानुन बनाउन अग्रसर भएको छ अब यो कानुन बनाउने प्रक्रियामा अघिबढेको छ। 

नेपालमा १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ वटा संरक्षण क्षेत्र तथा १३ वटा मध्यवर्ती क्षेत्रले जैविक विविधताको क्षेत्रमा काम गरिरहेका छन्। जसमा छ वटा संरक्षण क्षेत्रमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषले र दुई नेपाल सरकारले र एक स्थानीयले संरक्षण गरिरहेको मन्त्रालयले जनाएको छ।
एसियामा नेपाल ११ औँ स्थानमा

जैविक विविधताको हिसाबले नेपाल विश्वको २५ औँ र एसियाली क्षेत्रमा ११ औँ स्थानमा रहेको छ। नेपालको जैविक विविधताअन्तर्गत ११८ वन पर्यावरणीय प्रणाली, २०७ प्रजातीका स्तनधारी प्राणी, ८८७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १०० प्रजातिका सरिसृप, १८५ प्रजातिका माछा, ६५३ थरीका पुतली, तीन हजार ९६६ प्रजातिभन्दा मथ कीरा, पाँच हजारभन्दा बढी किटपतङ्ग छन्।

त्यस्तै दुई सय प्रजातिका माकुरा, छ हजार बढी फूल फुल्ने वनस्पति, ४७१ प्रजातिको झ्याउ, एक हजार ८२२ प्रजातिको ढुसी, ३३८ प्रजातिको उन्यू, पाँच सय बढी प्रजातिको खानयोग्य अन्न बाली हुनुका साथै दुई सय प्रजातिको खेती नेपालमा रहेको बिभागको तथ्यांक छ। 

अन्तर्रा्ष्ट्रिय जैविक विविधता दिवस
नेपालमा  यस वर्ष ‘खाद्यान्न र स्वस्थ जीवनका लागि जैविक विविधता’ नारासहित अन्तर्रा्ष्ट्रिय जैविक विविधता दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष मे २२ का दिन अन्तर्रा्ष्ट्रिय जैविक विविधता दिवस संसारभर मनाइँदै आएको छ।

सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेपछि सन् १९९४ देखि मे २२ का दिन जैविकविविधता दिवस मनाउने अभ्यास थालिएको हो। सन् २००२ देखि जैविक विविधता संरक्षणमा सम्बन्धित सबै सरोकारवालाको सक्रिय सहभागिताका लागि  हरेक बर्ष मे २२ का दिन विश्वभर जैविक विविधतादिवस मनाइदै आएको हो। 

जैविक विविधताको संरक्षण, समुचित उपयोग तथा यसबाट प्राप्त लाभको बाँडफाँटसम्बन्धी मुद्दामाथि अन्तर्रा्ष्ट्रिय तथा राष्ट्रिय रूपमा विशेष महत्वसाथ छलफल हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ