काठमाडौँ । पुलमा रातो कार्पेट बिच्छ्याइएको छ । पंक्तिवद्ध रुपमा नेपाली र चिनियाँ अधिकारी उपस्थित छन् । लाग्छ आज नयाँ बेहुली भित्र्याइँदैछ । नेपाली र चिनियाँ झण्डा फहराइएको छ । फूलका बुकी बोकेका नेपाली र चिनियाँ नागरिक लामवद्ध भएर बसेका छन् । यो दृश्य हो तातोपानीमा अवस्थित नेपाल र चीन जोड्ने मितेरी पुलको ।
जब ना ६ ख ४७५१ नम्बरको कन्टेनर चिनियाँ भूमि हुँदै मितेरी पुलमा ओच्छ्याइएको रातो कार्पेटमा प्रवेश गर्यो, तब भव्यताका साथ स्वागत गरियो । नेपाली समुदायले ताली बजाए भने चिनियाँ पक्षले भने ताली बजाएर कन्टेनरलाई नेपालतर्फ अगाडि बढ्न आग्रह गरे । खासाबाट ऊन बोकेर आएको कन्टेनर नेपाल प्रवेश गरेसँगै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलगायत नेपाली पक्ष र चिनियाँ उच्च प्रतिनिधिले नाका औपचारिक रुपमा खुला भएको घोषणा गरे ।
एउटा उत्सव जस्तो लाग्ने कार्यक्रम मितेरी पुलमा आज आयोजना गरिएको हो । उक्त महत्वपूर्ण अवसरको समाचार सङ्कलनका लागि नेपाली र चिनियाँ सञ्चारकर्मी समेत बाक्लो रुपमा नाकामा उपस्थित भएका थिए । आज गणतन्त्र दिवस जस्तो महत्वपूर्ण अवसर पारेर नाका सञ्चालनमा ल्याइएको हो ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले भव्यताका साथ नाका सञ्चालनमा आएको जानकारी दिए । उनले नाका सञ्चालनमा आएपछि त्यसले दुई देशको सम्बन्ध समेत नयाँ उचाइमा पुगेको र व्यापार व्यवसायको उन्नयनका लागि समेत महत्वपूर्ण योगदान दिने बताए ।
एक हजार ४९५ दिनपछि सञ्चालनमा आएको तातोपानी नाकालाई औपचारिकता दिन आयोजित समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, प्रतिनिधिसभा सदस्यद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङलगायत नेपाली व्यापारी व्यवसायी, अध्यागमन र भन्सार कार्यालयका प्रमुख तथा पदाधिकारी सहभागी थिए ।
पुलमा उभिएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री यादवले भूकम्पपछि बन्द भएको नाका सञ्चालनमा ल्याउन चीनले गरेको प्रयासको मुक्तकण्ठले प्रसंशा गर्दै धन्यवाद दिए । नेपाल र चीनबीचको सम्बन्ध सयौं वर्ष पुरानो रहेको औंल्याउँदै मन्त्री यादवले सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिए । मन्त्री यादवले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै नाकालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कुनै पनि कसर बाँकी नराख्ने उल्लेख गरे।
कार्यक्रममा चीनका भन्सार प्रशासनसम्बन्धी उपमन्त्री, तिब्बत सरकारका उच्च अधिकारीसँगै नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले तातोपानी नाका सञ्चालनमा आएसँगै दुई देशको व्यापारमा थप सहजता थपिने बताए । गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको मितेरी पुलको मङ्गलबार राति मात्रै निर्माण सम्पन्न भएको हो ।
तातोपानी नाकामा आज बिहानैदेखि ठूलो भीडभाड थियो । लामो समयपछि खुल्न लागेको नाकामा आयोजित कार्यक्रमलाई विशेष बनाउन स्थानीय भोटेकोशी गाउँपालिकाले पनि स्थानीयवासीलाई परिचालन गरेको थियो । खासाबाट ऊन ल्याउनका लागि मङ्गलबार बिहानै मात्रै चार कन्टेनर त्यसतर्फ लागेका थिए । सोमबार मात्रै दश नेपाली कामदारसमेत खासा गएका थिए ।
नाका खुलाउने अन्तिम तयारीका लागि गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालगायतको टोलीले यही शनिबार स्थलगत निरीक्षण गरेको थियो ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने सो नाका सञ्चालनमा आउने खबरपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् । भूइँचालोपछि खाली रहेको अध्यागमन र भन्सार कार्यालय सफासुग्घर बनाई सञ्चालनमा ल्याइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले हालै गर्नुभएको चीन भ्रमणको क्रममा नाका खोल्ने विषयमा औपचारिक सहमति भएको थियो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष गर्नु भएको चीन भ्रमणको क्रममा नाका खोल्ने विषयमा द्विपक्षीय समझदारी भएको थियो । सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य सापकोटाका अनुसार लामो प्रयास र मिहेनतपछि नाका सञ्चालमा आएको हो । रासस