काठमाडौं । नरेन्द्र दामोदरदास मोदीले भारतको १५औँ प्रधानमन्त्रीका रूपमा बिहीबार बेलुकी सपथग्रहण गरेका छन् । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले उनलाई सपथग्रहण गराएका हुन् ।
हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी भाजपाले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गरेका हुन् । प्रधानमन्त्रीका रुपमा ६८ बर्षीय मोदीको यो दोस्रो कार्यकाल हो ।
सपथग्रहण समारोहमा शिर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरूसहित झण्डै आठ हजार जना सहभागी भएका थिए ।
विश्वका विभिन्न देशका नेताहरुलाई आमन्त्रण गर्ने क्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी वङ्गालको खाडीको प्रयास बिमस्टेकका सदस्य राष्ट्रका सरकार प्रमुखलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गरेका थिए । बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।
यस पटकको सपथग्रहण समारोहमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेलायत लगायतका देशका विभिन्न पार्टीका नेताहरुलाई पनि बोलाइएको थियो । सन् २०१४ को निर्वाचनमा २८२ सिट जितेर सरकार बनाएको भारतीय जनता पार्टीले अहिले त्यो भन्दा बढी ३०३ सिट ल्याएर फेरी सरकार गठन गरेको हो ।
कुल ५४३ सिट मध्ये भाजपा नेतृत्वको गठबन्धनले भने ३५३ सिट जित्न सफल भएको छ । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेस भने नराम्रोसँग खुम्चिएको छ ।
जम्बो मन्त्रिमण्डल गठन
मोदीले आफूसमेत ५८ मन्त्रीहरुको पनि शपथ लिएका छन् । सन् २०१४ मा मोदीले ४६ जनाको सपथ लिएका थिए । यो टोलीमा भाजपाका अध्यक्ष अमित शाह पहिलो पटक केन्द्रीय मन्त्री बनेका छन् ।
यसपटक २५ क्याबिनेट, ९ राज्यमन्त्री स्वतन्त्र प्रभार र २४ राज्यमन्त्री बनाइएका छन् । यीमध्ये १९ जना नयाँ अनुहार हुन् । सबैभन्दा बढी ८ सांसद उत्तर प्रदेशबाट बनाइएका छन् ।
वैदेशिक नीतिमा विशेष दख्खल भएका एस जयशंकर पनि मन्त्री बनेका छन् । उनी ती वर्ष विदेश सचिव रहेका थिए भने अमेरिका र चीनको राजदूत भएका थिए ।
राज्यमन्त्रीहरु –
फग्गन सिंह कुलस्ते, अश्विनी चौबे, अर्जुन राम मेघवाल, वीके सिंह, कृष्णपाल गुर्जर, रावसाहेब दानवे, जी किशनरेड्डी, पुरुषोत्तम रुपाला, रामदास आठवले, साध्वी निरंजन ज्योति, बाबुल सुप्रियो, संजीव बालियान, संजय धोत्रे, अनुराग ठाकुर, सुरेश अंगडी, नित्यानंद राय, रतन लाल कटारिया, वी मुरलीधरन, रेणुका सिंह सरुता, सोम प्रकाश, रामेश्वर तेली, प्रताप चंद्र सारंगी, कैलाश चौधरी, देबश्री चौधरी ।
उमेरका हिसाबले मन्त्रीहरु–
मन्त्रीमण्डलमा भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीलाई पराजित गर्न सफल स्मृति ईरानी सबैभन्दा कम उमेरकी मन्त्री बनेकी छिन् । उनी ४३ वर्षकी छिन् ।
सबैभन्दा बढी उमेरका लोजपा प्रमुख रामविलास पासवान रहेका छन् । उनी ७२ वर्षका छन् ।
को को छुटे ?
सुषमा स्वराज, मेनका गांधी, राज्यवर्धन राठौर, महेश शर्मा, सुरेश प्रभुले भने यस मन्त्रीमण्डलमा स्थान पाएनन् ।