arrow

मेलम्चीका सप्लायर्सद्वारा डेढ अर्ब बक्यौता उठाउन माग

logo
प्रकाशित २०७६ जेठ १७ शुक्रबार
melamchi--water-supply.png

काठमाडौं । मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका छन् ।

आयोजनामा कार्यरत कर्मचारी, स्थानीय व्यवसायी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलले आज मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा आफ्ना माग पूरा नभएसम्म आयोजनाको काम अघि बढ्न नदिने चेतावनी दिएको छ । प्रतिनिधिमण्डलले समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई भेटेर सीएमसी कम्पनीको धरौटी रकमबाट बक्यौता रकम भराई दिन माग गरेको छ ।

सीएमसी कम्पनीका प्रतिनिधि अन्तिम समयमा आएर गत डिसेम्बर १५ मा आयोजनमा कार्यरत ८५० जना मजदुरको तलब भत्ता र ५० स्थानीय व्यवसायीको डेढ अर्ब रुपैयाँ बाँकी राखेर अकस्मात सबै काम छोडेर नेपालबाट भागेका थिए । सो कम्पनीको नेपालमा हाल धरौटी र भुक्तानी लिनुपर्ने रकम गरी झण्डै रु तीन अर्ब बाँकी रहेको आयोजनाले जनाएको छ ।
 
भेटमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्नुहुने सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले स्थानीय व्यवसायीले आयोजनामा नै निर्माण सामग्री आपूर्ति गरेकाले मुख्य ठेकदार भागे पनि आयोजना पक्षसँगै रकम माग राख्नु स्वभाविक भएको बताउनुभयो । साथै उहाँले विदेशी ठेकेदार कम्पनीको धरौटी रकमबाट स्थानीय व्यवसायी बक्यौता भराई दिने कानून नभए पनि सरकारले कुनै कानूनी बाटो निकालेर समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे।

समितिका कार्यकारी निर्देशक कँडेलले मेलम्ची आयोजनाका कर्मचारीको तलब भत्ता र स्थानीय व्यवसायीको बक्यौताको समस्या सम्बन्धमा अध्ययन समिति बनाउने निर्णय भई सकेको बताउँदै स्थानीयका माग र समस्या समाधान गर्न समिति सकारात्मक रहको जानकारी दिए ।
 
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति आइतमान तामाङले स्थानीय जनताले काम गरेको भुक्तानी नपाउनु दुःखद् भएको बताउँदै स्थानीयका समस्या समाधान गरेर मात्र आगामी दिनमा आयोजनाको काम अघि बढाउन सरकारलाई सुझाव दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकका क्षेत्रीय अध्यक्ष फणिन्द्र दाहालले स्थानीयको समस्याबारे सरकारले हालसम्म आवश्यक चासो नदिएको गुनासो गर्दै यथावस्था मै आयोजनाको काम अघि बढाए मूर्खता हुने विचार व्यक्त गरे ।
 
स्थानीय व्यवसायी किरण थापा र राजकुमार भट्टराईले आयोजनालाई निर्माण सामग्री आपूर्ति गर्ने क्रममा उपकरण खरिद र मजदुरको पारिश्रमिकका लागि लिएको ऋणको भार थपिँदै गएको गुनासो गर्दै तत्काल बक्यौता रकम उपलब्ध गराउन समितिले पहल गर्नुपर्ने माग गरे  ।

आयोजनाका कर्मचारी देवीरमण अधिकारीले ८५० कर्मचारीको चार महिनाको तलब भत्ता भुक्तानी लिन बाँकी रहेको बताउँदै आयोजना सम्पन्न गर्न आफूहरु सधैँ तयार रहेको समेत अवगत गराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ