arrow

सेनाको गोली लागि मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

logo
प्रकाशित २०७६ जेठ २० सोमबार
gunfire.jpg

खार्तुम । सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले चलाएको गोली लागि मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको समाचारमा जनाइएको छ । प्रदर्शन स्थलमा लगातार बन्दुक पड्किएको आवाज आएको पनि एएफपीका पत्रकारले जनाएका छन् ।

सैनिक शासन विरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए ।

आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

संयुक्त राज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् । चिकित्सकहरुको केन्द्रीय टोलीले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने दावी गरेका छन् । यी दुबै मुलुकले नागरिकलाई शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्न निरन्तर दवाब दिइरहेका छन् ।

रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाहरुले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिएको र आपत्कालिन सहयोगको आवश्यकता परेको बताएका छन् ।

सुडानी प्रोफेसनल एसोसिएसन (एसपीए)ले सेनाले “रक्तपातपूर्ण आमहत्या” गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्णरूपमा असफल तुल्याउन “नागरिक अवज्ञा” गर्न आह्वान गरेको छ ।

सेनाको वर्तमान् नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैले लिएको हो ।
 
सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भएपनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ