काठमाडौं । विश्वकप एक दिवसीय क्रिकेटको छैटौं खेलमा पाकिस्तान विजयी भएको छ । पाकिस्तानले इंगल्याण्डमाथि १४ रनको विजयी नतिजा निकालेको हो ।
नटिंघममा सोमबार राति भएको खेलमा पाकिस्तानले ११ एक दिवसीय हारपछि पहिलो ठूलो जित निकालेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ८ विकेटको नोक्सानीमा ३४८ रन बनायो । यो योगफल पाकिस्तानको अहिलेसम्मकै ठूलो योगफल हो ।
मोहम्मद हाफिजले ८४, बाबर अजाम, सर्फराज अहमदले ५५ तथा इमाम उलहकले ४४ रन बनाए ।
क्रिस वोक्स र मोइन अलीले ३–३ तथा मार्क उडले २ विकेट लिए ।
जवाफमा फराकिलो लक्ष्य लिएर खडा भएको इंगल्याण्डले घरेलु मैदानमा डटेर सामना गरे पनि जित्न सकेन । दुई खेलाडीले सतक बनाएर पनि ९ विकेटको नोक्सानीमा ३३४ रन बनाउन सक्यो ।
जो रुटले १०७ तथा जोस बटलरले १०३ रन बनाए पनि टिमले जितेन । वहाब रियाजले ३ तथा शदाब खान र मोहम्मद अमिरले २–२ विकेट लिए ।
पहिलो खेलमा वेष्ट इन्डिजसंग ३ विकेटले पराजित भएको पाकिस्तानले यो जितपछि अंकको खाता खोलेको छ । इंगल्याण्डले पहिलो खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले हराएको थियो ।