रसुवा । बिहान ६ बजेदेखि चलेको हावाहुरीले सदरमुकाम धुन्चेलगायत आसपासका क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले दर्जनौँ जस्ताका घरका छना उडाएको र कतिपयको उठिबास भएको छ ।
अहिले स्थानीयवासी सुुरक्षित ठाउँको खोजी गर्दै बसिरहेका छन् । हावाहुरीले भूकम्प पीडितहरु बस्दै आएका जस्ताको टहरा र त्रिपाल, टेन्टमा बस्ने कयौं स्थानीयको विचल्ली गराएको छ । सबै नागरिकलाई सुरक्षित ठाउँमा बस्न आह्वान गरिएको जिल्ला प्रहरी प्रमुख अवधेश विष्टले बताए ।
उता, मङ्गलबार अपराह्नदेखि हाकु गाविसको जङ्गलमा लागेको डढेलो नियन्त्रणमा आएको छैन । हावाहुरीले डढेलो बढ्दै जाँदा हजारौँ हेक्टर वनजङ्गल डढेलोको चपेटामा परेको बताइएको छ । क्षतिको विवरण यकिन भएको छैन ।