arrow

'कांग्रेसलाई साथ लिएर जान हामी तयार छौ, के को लागि सरकार परिवर्तन?’

logo
प्रकाशित २०७२ चैत १० बुधबार
Bhim-Rawal.jpg.jpeg
काठमाडौ। उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल र चीनवीच भएको १० बुँदे सम्झौताले भारत पनि खुसी भएको दावी गरेका छन। 
 
राजधानीमा बुधवार आयोजना एक साक्षात्कारमा उनले भने,‘ स्वतन्त्र र सार्वभौम देशको नाताले नेपालले चीनसँग सम्झौता गर्दा भारतलाई अन्यथा लाग्नु हुँदैन। भारतले पनि अरु देशसँग सम्झौता गर्दा हामी खुसी हुन्छौ भने हामीले गर्दा पनि भारत खुसी नै हुनु पर्छ। छिमेकी समृद्ध भए भारतीय जनता र भारतलाई पनि फाईदा हुन्छ। त्यसैले भारतपनि यो सम्झौताले खुसी छ।’
 
साक्षात्कारमा उपप्रधानमन्त्री रावलले अहिलेसम्म भारतीय भूमिबाट मात्रै तेस्रो देशसँगको ब्यापार हुने गरेकोमा अहिलेको सम्झौताले चीनको भूमिबाट समेत तेस्रो मुलुकसँगको ब्यापार गर्न पाउने ब्यवस्था भएकोले यसले मुलुकको दिर्घकालिन रुपमा फाईदा गर्ने विश्वास ब्यक्त गरे। 
 
नेपालले आवश्यकता अनुसार जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने भन्दै अहिले प्राविधिक कारणले मात्रै चीनसँग ईन्धन सम्झौता हुन नसकेको उनले बताए। 
 
उपप्रधानमन्त्री रावलले भने,‘ ईन्धन सम्झौता गर्न नेपाल र चीन दुबै पक्ष सहमत छन। तेलको मुल्य, ढुवानी, कर लगायतका प्राविधिक कारण टुङगो लागि नसकेकोले मात्रै अहिले सम्झौता हुन नसकेको हो।’
 
उनले छिमेकीहरुसँग पारस्परिक हित, लाभ र समानतामा आधारित रहेर सम्बन्धलाई अझै फराकिलो र गहिरो बनाउन लागि परेको दावी गर्दै चीनसँग भएको सम्झौता नेपालको आर्थिक विकास र दुई मुलुकको सम्बन्धलाई अझै गहन बनाउन महत्वपूर्ण हुने विश्वास ब्यक्त गरे। 
उनले भने,‘ यो सम्झौता ऐतिहासिक र दिर्घकालिन प्रभाव पार्ने खाल्को छ। नेपाल सार्वभौम राष्ट्र भएकोले दिगो शान्ति, स्थायीत्व र विकासकोलागि सम्झौता गर्न सक्छ। यो नेपालको हितमा कोशेढुंगा सावित हुन्छ। ’
 
उपप्रधानमन्त्री रावलले नेपालले चीनसँग पारवहन सुविधान लिनु भारत विरोधी हुनै नसक्ने ठोकुवा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी भारत र चीनको भ्रमण नेपालको हितमा रहेको दावी गरे।
 
उनले चीनसँग भएको सम्झौता कार्यान्वयनमा आशंका नगर्न आग्रह गर्दै सम्झौता भएसँगै अब त्यसको कार्यान्वयनको प्रक्रिया सुरु भएको र त्यसकोलागि सबै एकजुट भएर लाग्नु पर्ने जोड दिए। 
 
उपप्रधानमन्त्री रावलले प्रधानमन्त्रीको भ्रमणको एजेण्डा सार्वजनिक भएपछि मधेसी मोर्चासहितका दलहरुले चिनियाँ राजदुतलाई ज्ञापन पत्र बुझाउनु राष्ट्र हित र स्वार्थ विपरित काम भएको भन्दै नेपाली जनताको हितको लागि राजनीति गर्ने दलहरुले यस्तो गर्न नसुहाउने धारणा ब्यक्त गरे। 
 
मुलुकको भौगोलिक अखण्डता, साम्प्रदायिक सद्भावमा खतरा हुने अवस्थामा नेपालको संविधान र नेपालको सरकारको निर्णय अनुसार सेना परिचालन हुने भनि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले दिएको अभिब्यक्ति स्वभाविक भएको भन्दै उनले संविधान अनुसार त्यस्तो बेलामा नागरिक त परिचालन हुने ब्यवस्था भएको बेला सेना परिचालन हुन्छ भन्नुलाई लिएर हल्ला गर्नु पर्ने कुनै आवश्यकता नभएको तर्क गरे। 
 
उपप्रधानमन्त्री रावलले अहिलेको सरकारसँग सत्ता साझेदार एमाओवादी अध्यक्ष प्रचण्ड रुष्ट नभई प्रसन्न भएको दावी गर्दै आफूहरु सधै सहमतिको सरकारको पक्षमा रहँदै आएको दावी गरे।
 
उनले भने,‘ हामीसधै सहमतिको सरकारको पक्षमा थियौ। संविधान निर्माण र कार्यान्वयनमा मिलेर जाने भन्ने भद्र सहमति हामीले काग्रेससँग गरेकै हो। काग्रेसले तोडेपनि हामी त्यसमा अझै प्रतिबद्ध छौ।’
 
उपप्रधानमन्त्री रावलले सरकार संविधान कार्यान्वयन र त्यसअनुसार निर्वाचन गर्न तयार रहेको अवस्थामा के को लागि सरकारको नेतृत्व परिवर्तन गर्ने भनि प्रश्न गर्दै अहिले यो सरकारको विकल्पमा अरुको नेतृत्वको कुरा प्रासंगिक नभएको तर्क गरे। 
 
उनले भने,‘ काग्रेसलाई साथ लिएर जान हामी तयार छौ। अनि के को लागि सरकार परिवर्तन गर्ने ?’
 
उपप्रधानमन्त्री रावलले साक्षात्कारमा सरकारले स्थानीय निकायको निर्वाचनको तयारी सुरु गरिसकेको जानकारी समेत दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ