arrow

वाइडबडी काण्डको अर्को प्रतिवेदनमा के छ ? पत्रकारलाई ढिम्किन नदिएर गुपचुप राख्ने प्रयास !

logo
प्रकाशित २०७६ जेठ २५ शनिबार
makalu-airbus.JPG

काठमाडौं। नेपाल वायु सेवा निगमले किनेका २ वटा वाइडबडी जहाजमा भएको भ्रष्टाचार अध्ययन गर्न गठन गरिएको संसदको अर्को उपसमितिले तयार पारेको प्रतिवेदन शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रस्तुत गरिएको छ।

सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रवितेदन, समितिको बैठकमा प्रस्तुत गरिएको हो। तर प्रतिवेदन प्रस्तुत गर्ने समय आएपछि, समिति सभापति पवित्र निरौला खरेलले पत्रकारलाई बाहिर निकालेकी हुन्। 

सांसद दीपक प्रकाश भट्टको संयोजकतत्वमा गत मंसिरमै गठित उपसमितिले बुझाएको प्रतिवेदन शुक्रबारको बैठकमा छलफल गर्ने तालिका थियो। पत्रकारहरुलाइै बैठकस्थलबाट निकाल्ने क्रममा उनले, हामी छलफलकै क्रममा छौं, निश्कर्ष आएपछि तपाईंहरुलाई सबै जानकारी दिन्छौं भनेकि थिइन्।

तर आजको बैठकमा यो विषयमा थप अध्ययन गर्नुपर्ने देखिएको भन्दै टारिएको छ। पत्रकारहरुलाई बाहिर निकाल्नु पर्नुको कारणबारे उनले भनिन्, ‘छलफलकै क्रममा रहेकोले साथीहरुलाई बाहिर गइदिनुस् भनेको हो, खासमा त्यस्तो गोप्य राख्नु पर्ने कारण त थिएन, तर पनि निश्कर्ष आएपछि दिउँला भनेर हो’।

समितिका सचिव सुरज कुमार दुराले भने, ‘पहिला पत्रकार साथीहरुलाई निकालिएको रहेछ, मैलेनै भित्र लगेर बैठकको फोटो खिचाएको हुँ। तर उहाँहरुलाई वाइडबडीको प्रतिवेदन प्रस्तुत हुँदाको बेला बस्न नदिएको भने सत्य हो’। साथै आजको बैठकमा माननीयहरुले अध्ययनका लागि समय मागेकोले, कुनै निश्कर्ष नआएको उनले बताए। 

के छ त गोप्य राखिएको प्रतिवेदनमा ? 
सांसद भट्टको संयोजकत्वमा मंसिरमा गठित उपसमितिले पाँच महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। २ महिनाअघि नै प्रतिवेदन तयार भएपनि, अझै सार्वजनिक गरिएको छैन, गोप्य नै राखिएको छ। समितिका एकजना सदस्यले भने, सायद लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदनमाथि संशोधन गरिएजस्तै यो प्रतिवेदनमा पनि केही थपघट गर्नका लागि सार्वजनिक गरिएको हुनसक्ने बताए। 

साथै उनले, लेखा समितिले तयार पारेको भन्दा यो प्रतिवेदन बढी परिष्कृत कडा रुपमा आएको र कुन कुन ठाउँमा को को माथि कसरी अनुसन्धान गर्नुपर्छ भन्नेबारे यो प्रतिवेदनले किटानका साथ सुझाब दिएको ती सदस्यको भनाइ छ। कतिपयलाई यो प्रतिवेदन डाइजेष्ट गर्ननै समस्या पर्नसक्ने समेत उनले बताए। वाइडबडी खरिदमा प्रकृयागत रुपमै त्रुटी देखिएको भन्दै उनले, प्रतिवेदन सार्वजनिक भएपछि एकपटक फेरी राजनीति तात्तिने उनको दाबी छ।

तर प्रतिवेदनमा केही संशोधन हुनसक्ने भन्दै उनले यदि त्यस्तो भएमा समितिमा ठुलै हंगामा हुने चेतावनी समेत दिए। यसअघि संसदकै लेखा समितिले विमान खरिदबारे छानबिन गरेर ४ अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकालेको थियो। लेखाको निर्देशन अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रक्रियाबारे छानबिन गरिरहेको छ। भट्ट नेतृत्वको उपसमितिले निगमका दुई वाइडबडी खरिद प्रकरण, न्यारोबडी र चिनियाँ जहाज खरिदको समेत अध्ययन गरिएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ