arrow

तेस्रो संस्करणको प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

logo
प्रकाशित २०७६ जेठ २५ शनिबार
pradhanmantri_cup_cricket_policelai.jpg

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ ।     
     
 कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि हासिल गर्न सफल भयो । उपाधिसहित पुलिसले रु २० लाख प्राप्त गरेको छ ।     
     
 यसअघि दुई विभागीय टोली पुलिस र आर्मी उक्त प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थिए । वर्षाका कारण फाइनल खेल रद्द भएपछि दुवैले ट्रफी बाडेका थिए । त्यस्तै दोस्रो संस्करणको उक्त प्रतियोगितामा पुलिस सेमिफाइनलमा पराजित भएको थियो भने आर्मी फाइनलमा अर्कोे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग पराजित भएको थियो ।     
     
 प्रतियोगिताको तीनै संस्करणसम्मको खेलमा फाइनल पुगेको आर्मी उपाधिविहीन बन्यो । हारसँगै उपविजेतामा चित्त बुझाएको आर्मीले रु दश लाख पायो । टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले पुलिसलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो । सो विजय लक्ष्य बोकेर मैदानमा उत्रेको पुलिसले ४०.३ ओभरमा छ विकेट गुमाएर भेटायो ।     
     
 पुलिसको जीतमा अमित श्रेष्ठले ४० बल खेल्दै दुई छक्का र छ चौकाको मद्दतले सर्वाधिक ४४ रन बनाए । त्यसैगरी सुनिल धमालाले अविजित ४२ रन जोड्दा कप्तान मञ्जितले अविजित ११ रन जोडे । बलिङतर्फ आर्मीका करण केसीले व्यक्तिगत तीन विकेट लिए । त्यस्तै शाहव आलमले दुई विकेट लिँदा सुसन भारीले एक विकेट हात पारे ।     
     
 त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको शुरुआत उत्कृष्ट भए पनि त्यसलाई निरन्तरता दिन नसकेपछि हार बेहार्न बाध्य बन्यो । आर्मी ३३.३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । 

शुरुआती ब्याट्सम्यान सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि १५.५ ओभरमा ७२ रनको साझेदारी गर्दै ठूलो योगफलको सम्भावना देखाएका थिए । तर ललित नारायण राजवंशीले सोमपाललाई पवन सरार्फबाट क्याच आउट गर्दै ३५ रनमा पेभिलिएन फर्काएपछि आर्मीको खेलको स्तर खस्किएको थियो ।     
     
 सोमपालले ४० बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका थिए । त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिन पुगेको थियो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार÷चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे ।     
     
 समूह चरणको खेलमा पनि पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो । त्यस्तै यस संस्करणको प्रतियोगितामा पुलिस र आर्मी एउटै समूहबाट फाइनलमा पुगेका थिए । समूह बी मा रहेको पुलिस समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो । 

पुलिसले सेमिफाइनलमा साविक विजेता एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्र तय गरेको थियो । उता समूह चरणमा पुलिससँग मात्र हार बेहोरेको आर्मीले सेमिफाइनलमा प्रदेश नं ३ लाई ११७ रनले पराजित गरेको थियो ।     
     
 राष्ट्रिय खेलकूद परिषद् राखेपको आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिता यही जेठ १० गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी थिए भने समूह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश सहभागी थिए ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ