१३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटियो
एएफपी,
प्रकाशित २०७६ जेठ २९ बुधबार
234
Shares
नयाँ दिल्ली। भारतीय अधिकारीहरूले एक हप्ता पहिले १३ जनासहित वेपत्ता भारतीय विमानको भग्नावशेष भेटिएको बताएका छन्। विमानको भग्नाबशेष भारतको उत्तरपूर्वी अरूणाञ्चल प्रदेशको हिमाली क्षेत्रमा चीनको सीमा नजिकै भेटिएको भारतीय अधिकारीले बताए।
तत्कालिन सोभियत सङ्घमा निर्मित भारतीय हवाई बल (आइएएफ) को एमआई–१७ हेलिकोप्टर गत जुन ३ गते चालकदलका आठ र पाँच सर्वसाधारण यात्रु लिएर उडेको करिब ३५ मिनेटपछि विमानस्थलसँग सम्पर्कविच्छेद भएको थियो। आइएएफले ट्वीटरमार्फत सम्प्रेषण गरेको सन्देशमा भनिएको छ, “ गत जुन ३ मा वेपत्ता विमान एएन–३२ को भग्नाबशेष मङ्गलबार करिब १२ हजार मिटरको उचाईमा भारतीय हिमाली क्षेत्रमा भेटिएको छ।
“विमानको भग्नावशेष भेटिएसँगै विमानमा रहेका चालक दलका सदस्य र सर्वसाधारण यात्रुको अवस्थाबारे वास्तविकता पत्ता लगाउन प्रयास जारी रहेको छ,” आइएएफको ट्वीटर सन्देशमा उल्लेख छ।
वेपत्ता विमानको खोजी प्रयासमा कठिनाई भएपछि भारतीय अधिकारीले विमानको अवस्थाबारे सूचना ल्याउने व्यक्तिलाई पाँच लाख ५० हजार भारतीय रूपैँयाको पुरस्कार घोषणा गरेको थियो।
प्रशासनले उक्त क्षेत्रका गाउँले प्रमुखलाई खोजीका लागि समूह बनाएर विमान वेपत्ता भएको अनुमान गरिएको मेचुका जङ्गल क्षेत्रमा जान निर्देशन गरेको थियो।
सन् २०१६ मा पनि चेन्नईबाट अन्दामन र निकोबार टापूतर्फ उडेको विमान बङ्गालको खाडीमाथिबाट २९ जना यात्रुसहित वेपत्ता भएको थियो जसको बारेमा अहिलेसम्म कुनै जानकारी भेटिएको छैन।