arrow

डाक्टरको आन्दोलनका कारण के धरापमा छ ममताको सत्ता ?

logo
प्रकाशित २०७६ असार २ सोमबार
mamata-banarji.JPG

नयाँ दिल्ली । पश्चिम बंगालमा डाक्टरहरुमाथि भएको हिंसापछि जारी हड्ताल लम्बिएर ७ दिनभन्दा धेरै भइसकेको छ । बंगालका डाक्टरको समर्थनमा पूरा देशका डाक्टर एकजुट भएका छन् । इण्डियन मेडिकल एसोसिएशन र एम्सका जूनियर रेजिडेन्ट डाक्टरहरुले बंगालका डाक्टरको साथ दिनको लागि आज २४ घण्टाको 'महाबन्द' मा शामेल हुने निर्णय समेत गरेका छन् । यही समयमा विहान ६ बजेदेखि २४ घण्टासम्म देशभरमा ५ लाख भन्दा धेरै डाक्टरहरु हड्तालमा उत्रिएका छन् ।  

पश्चिम बंगालमा दुई जुनियर डाक्टरहरुमाथि भएको हिंस्रक हमलापछि सुरु भएको आन्दोलन लगातार बढिरहेको छ । शुक्रवारदेखि नै बंगाल बाहिर समेत कैयौं राज्यबाट आन्दोलनरत डाक्टरलाई समर्थन जुटिरहेको छ । दिल्ली, मुम्बई समेत तमाम शहरहरुका ठूला ठूला अस्पताल बन्द रहेका छन् । अहिले पश्चिम बंगालमा यो गम्भीर समस्याको रुपमा देखिएको छ। जसका कारण प्रदेशको पूरा स्वास्थ्य अवस्था समेत धरमराएको छ । 

डाक्टरहरुको आन्दोलनका कारण विशेषगरी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी सबैभन्दा धेरै समस्यामा देखिएकी छिन्। एकातिर केन्द्र सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीको तारो बनेकी ममतालाई सत्ताबाट हटाउनको लागि भाजपा एक किसिमको महोलको पर्खाइमा छ भने ममता भने पश्चिम बंगाललाई गुजरात बन्न नदिने भन्दै समस्या सुल्झाउनु पर्ने तर्क गर्दै आइरहेकी छिन् । यदि डाक्टरहरुको यो हड्ताललाई गम्भीर रुपमा नलिने हो भने ममताको सत्तामाथि समेत कालो बादल लाग्ने देखिएको छ । यो मुद्दालाई अहिले केन्द्र सरकारले गहन रुपमा हेर्न थालिसकेको छ । प्रदेशमा देखिएको समस्याबारे पश्चिम बंगालका गभर्नरले केन्द्र सरकारलाई रिपोर्ट पनि बुझाइसकेका छन् भने केन्द्रले ममता बनर्जीसँग पनि रिपोर्ट मागिरहेको छ। 

शनिबार ममताले हड्तालमा उत्रिएका डाक्टरहरुको सबै मागलाई मान्दै पूरा गर्ने आश्वासन दिएकी थिइन् । उनले यद्यपि अहिलेसम्म त्यस्तो केही पनि माग पूरा गर्न भने सकेकी छैनन् । मागप्रति सकारात्मकता देखाउँदै ममताले उनीहरुलाई फेरि काममा उत्रिन आग्रह गरेकी हुन् । उनले हिंसाको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भनेकी छन् कि यस मामलामा छिट्टै समाधानमा पुगिन्छ । 

कुनै पनि प्रदेशको सरकारले समस्या सुल्झाउन नसकेको खण्डमा त्यसको लागि राष्ट्रपतिले सिधै शासन सम्हाल्नको लागि केन्द्र सरकारले सिफारिस गर्न सक्ने अवस्था रहन्छ । यद्यपि प्रदेश सरकारले जायज काम गर्दा गर्दै पनि केन्द्रले राष्ट्रपति शासन सुरु गर्छ भने उसले भारतीय राष्ट्रिय काँग्रेसको जस्तै हालत भोग्नु पर्छ । त्यस अघिसम्म काँग्रेसको पकड क्षेत्रको रुपमा रहेको पश्चिम बंगालमा १९८०को दशकमा राष्ट्रपति शासन लगाएपछि त्यहाँ काँग्रेसले यदाकदा बाहेक चुनाव जित्न सकेको छैन । 

त्यसैले त्यस्तो मुर्खता भाजपाले गर्न चाहिरहेको छैन । त्यसैले पनि भाजपा यस्तै गतिविधिको पर्खाइमा छ । जसले ममता बनर्जीको सरकार केही काम गर्न नसकेर केन्द्रबाट समाधानको लागि हस्तक्षेप गर्नु परोस् । त्यही स्थिति पनि यो डाक्टरहो आन्दोलनमा आउनसक्ने  देखिएको छ । 

ममता बनर्जी हठी स्वभावकी नेतृ भएपनि उनी झुक्ने सवालमा भने धेरै पछि छिन् । आफ्नो विवेकमा आएको कुरालाई कुटनीतिक रुपमा राख्न नसक्ने भएकै कारण उनी भाजपाका कार्यकर्ताले जय श्रीराम भनेको बेलामा होस् या त प्रधानमन्त्री नरेन्द्र मोदीले दिने अभिव्यक्तिको जवाफमा नै किन नहोस् । उनी कूटनीतिक भन्दा पनि आक्रोशित रुपमा उत्तर दिने गर्दछिन् । यही कारण पनि उनीसँग धेरै रुष्ट हुने गरेका छन् । 

यो डाक्टरहरुको मुद्दामा पनि ममता पहिले जस्तैगरी नझुक्ने र आन्दोलानलाई बेवास्ता गर्ने हो भने यसले ममताको सत्तामाथि कालो बादल पैदा गर्ने सम्भावना देखिन्छ । यसको लागि समयमा नै डाक्टरको समस्या समाधान गर्नु नै उनको लागि फाइदाजनक देखिएको छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ