झापा । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टी भित्रको आन्तरिक प्रतिष्पर्धा र समीकरण चिरस्थायी नहुने बताएका छन् । १३औं महाधिवेशनमा सभापति पदको उम्मेदवार बनेपश्चात पहिलो पटक गृह जिल्ला झापा पुगेका कांग्रेस केन्द्रीय सदस्य सिटौलाले चन्द्रगढीस्थित आफ्नै निवासमा उपस्थित कार्यकर्तामाझ सिटौलाले लोकतान्त्रिक पार्टीमा उम्मेदवार बन्नु र विभिन्न समीकरण हुनु स्वभाविक प्रक्रिया भएको बताए ।
फरक आस्था, नीति, विचार र कार्यक्रम भएका पार्टीहरुबीच समीकरणहरु परिवर्तन हुने भएपनि राजनीतिक प्रतिष्पर्धा भने चिरस्थायी हुने पनि नेता सिटौलाले बताए । सिटौलाले एउटा पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा र विभिन्न पार्टीहरुबीचको राजनीतिक प्रतिष्पर्धालाई फरक ढंगले बुझ्नुपर्ने पनि प्रस्ट्याए ।
पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वभाविक रुपमा ग्रहण गर्नुपर्ने बताउँदै नेता सिटौलाले प्रतिष्पर्धा र समीकरण नीति र नेतृत्वका आधारमा हुने भनाई राखे। एउटा मुद्दामा अलग धारमा उभिएका नेता, कार्यकर्ताहरु अर्को राजनीतिक मुद्दा र विचार कार्यक्रममा एकठाउँमा उभिनसक्ने र उभिएका प्रशस्त उदाहरणहरु दिंदै नेता सिटौलाले भने, ‘कहिले नीतिमाथि फरक मत हुनसक्छ भने कहिले नेतृत्वका सवालमा पनि भिन्न मत देखिन सक्छ, यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।’
पार्टीभित्र जो वैधानिक तरिकाबाट नेतृत्वमा आउँछ उ नै संस्थापनपक्ष हुने भनाई राख्दै सिटौलाले पार्टी फुटाएर जानेहरुप्रति जनता र कार्यकर्ताको वितृष्णा हुने र पार्टीलाई जुटाउने एवं विधिवत रुपमा नेतृत्वमा आउनेलाई लोकतन्त्रमा सदैव स्वागत हुने पनि नेता सिटौलाले उल्लेख गरे। शान्ति प्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पूर्व उपप्रधान तथा गृहमन्त्री सिटौलाले नेपाली जनताले कठोर संघर्ष र बलिदान गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा कांग्रेस कार्यकर्ताहरुले जिम्मेवार ढंगले लाग्न सुझाव दिए ।