फेरी राष्ट्रपति बन्न ट्रम्पद्वारा औपचारिक रूपमा प्रचार अभियान शुरु
प्रकाशित २०७६ असार ४ बुधबार
617
Shares
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन प्रचारप्रसार अभियान औपचारिक रुपमा शुरु गरेका छन् ।
आगामी सन् २०२० मा हुने निर्वाचनको प्रचारप्रसार अभियान उनले मङ्गलबार राति फ्लोरिडाको ओल्र्याण्डोबाट शुरु गरेका हुन् ।
ओल्र्याण्डोमा आयोजित र्यालीलाई सम्बोधन गर्दै उनले भने, “मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिक रुपमा प्रचार अभियान शुरु गरेको छु ।”
सम्बोधनका क्रममा उनले फ्लोरिडा राज्य आफ्नो “दोस्रो घर” भएको बताउँदै समर्थकहरूलाई अर्को चार वर्षका लागि “एक ढिक्का रहन” आग्रह पनि गरे ।
बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उनले आफू सधैँ अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको बताए ।
थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरुको चर्को आलोचना गरे ।
प्रारम्भिक मत सर्वेक्षणले डेमोक्र्याटिक तर्फका सम्भावित उम्मेदवारभन्दा उनि पछाडि रहेको देखाएकाले ट्रम्प उनीहरुप्रति थप आक्रोशित भएको बताइएको छ ।
सन् २०१६ को चुनावमा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति बनेका थिए । अहिले शुरु भएको चुनावी र्यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी थिइन् ।