arrow

फर्कीए राष्ट्रपति सी

logo
प्रकाशित २०७६ असार ६ शुक्रबार
xi-kim1.jpg

चीन । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएका छन्  । चिनियाँ समाचार समिति सिन्ह्वाले उत्तर कोरियाको राजधानी प्योङयाङबाट यो समाचार सम्प्रेषण गरेको छ । चिनियाँ राष्ट्र प्रमुखबाट १४ वर्षपछि यो पहिलो पटक उत्तर कोरियाको भ्रमण भएको पनि उक्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति सी चीनको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार प्योङयाङ पुगेका थिए । त्यहाँ उनले उत्तर कोरियाली नेता किम जोङ अनसँग द्विपक्षीय वार्ता गरे ।

चीन र उत्तर कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको यस वर्ष यी दुई देशले ७० औँ वर्षगाँठ मनाइरहेका छन् । यसै उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको औपचारिक भ्रमणका लागि पुगेको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बिहीबार हस्ताक्षर भएको थियो ।

आर्थिक तथा पराम्परागत सम्बन्ध कायम रहँदै आएका यी दुई देशबीच राष्ट्रपति सिको यस भ्रमणबाट परम्परागत सम्बन्धमा नयाँ अध्याय शुरु भएको प्रतिक्रिया राष्ट्रपति सिले नै दिएका छन् ।  राष्ट्रपति सिले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको धारणा उत्तर कोरियामा रहँदा व्यक्त गरेका थिए।

चीन र उत्तर कोरियाबीचको असल सम्बन्धले दुई देश र ती देशका नागरिकका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि प्रत्यक्ष रुपमा लाभ पुग्ने धारणा चिनियाँ राष्ट्रपति सिले राखेका थिए ।

उनले आफ्नो भ्रमणको एक दिन अघि उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित आफ्नो लेखमा सो कुरा उल्लेख गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ