सप्तरी। राजविराजस्थित कारागारमा रहेका एक भारतीय कैदीको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको मधेपुरा जिल्ला परमानपुर–३ निवासी मो इलियास मियाँ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
छयालीस वर्षीय मियाँको कुन कारणले मृत्यु भएको थाह हुन सकेको छैन। प्रहरीका अनुसार उनले लामो समयदेखि हरनियाँ र उच्च रक्तचापको उपचार गराइरहेका थिए। उनको गएराति गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कारागारका प्रमुख कृष्ण दाहालले बताए।
आगो लगाएर ज्यान मार्ने उद्योगमा २०६९ जेठ ७ मा जिल्ला अदालत राजविराजले मियाँलाई नौ वर्ष कैद सजाय तोकेको थियो।
लागुऔषधसहित दुई पक्राउ
सप्तरीको राजविराज–८ स्थित कुनोली मोडबाट दुईजना युवालाई गएराति लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा जिल्लाको मानराजा गाविस–२ बस्ने १७ वर्षीय नरेश साह र सोही ठाउँका १८ वर्षीय अनिलकुमार झा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका दुवैजनाको साथबाट १६ वटा नाइट्रोजन ट्याब्लेट र तीन थान डाइजेपाम ट्याब्लेटलगायत बरामद गरिएको प्रहरीले बताएको छ। उनीहरु दुवैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस