arrow

भारतमा बढ्यो अमेरिकी कच्चा तेल आयात

logo
प्रकाशित २०७६ असार १० मंगलबार
us-crude-oil.jpg

नयाँ दिल्ली (भारत)। भारतमा अमेरिकी कच्चा तेलको आयात बढेको छ। गत नोभेम्बरमा अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धसँगै भारतमा अमेरिकी तेल आयात बढेको हो। रोयटर्सका अनुसार, भारत भित्रीएका तेल ट्यांकरको तथ्यांकले पछिल्लो समय अमेरिकी तेलको आयात बढेको देखाएको छ। 

गत मे महीनामा अमेरिकाले इरान प्रतिबन्धमा केही मुलुकलाई दिँदै आएको छूट अन्त्य गर्ने निर्णय गरेको थियो। तर, भारतले भने आफ्नो तेल आयात मध्यपूर्वको सट्टामा अमेरिकाबाट गर्ने दिशामा अघिबढिरहेको छ। 

विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सन् २०१८ को नोभेम्बरदेखि २०१९ मेसम्ममा प्रतिदिन १ लाख ८४ हजार ब्यारेलको तेल अमेरिकाबाट आयात गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा उसले केवल ४० हजार प्रतिदिनको दरले तेल आयात गरेको थियो।

मेको तथ्यांक हेर्ने हो भने इरानको लागि पनि भारत दोस्रो सबैभन्दा ठूलो खरीदकर्ता मुलुक हो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले केही समयअघि भारत भ्रमण गरेका थिए। जुन महीनाको शुरुमा भारतले आफ्नो तेल र ग्यासको आयात बढाउनुपर्ने अमेरिकाले बताएको थियो। इरान र भेनेजुयलामाथि प्रतिबन्धकपछिको अन्तर पूरा गर्न भारतका लागि यो आवश्यक रहेको अमेरिकाको भनाइ थियो।

भारतको साउदी अरेबियाबाट हुने तेल आयात पनि उक्त सात महीनामा ११ प्रतिशत बढेको छ। त्यस्तै यूएईसँगको तेल आयात भने ३७ प्रतिशतले बढेको छ। इराकबाट हुने आयातमा भने ३ दशमलव ३ प्रतिशतको गिरावट आएको छ। 

मेक्सिकोबाट भारतमा हुने तेल आयात सो अवधिमा १३ प्रतिशत बढेको थियो। अमेरिकी तेलमा भारतले केही छुट पनि पाउँदै आएको छ। साथै ब्रेन्ट कच्चा तेलको तुलनामा अमेरिकी कच्चा तेल ७ देखि ८ डलरसम्म सस्तो हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ