काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधकुमार नेपालले वर्तमान सरकार अझै २ वर्ष टिक्ने जिकिर गरेका छन् । नेपालले यो सरकारलाई कसैले ढाल्न नसक्ने समेत बताए । नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाइन्स मजदुर यूनियन (यूनिट्राभ) अन्तर्गत एयरपोर्ट इलाका कमिटीको चौथो अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले राष्ट्रियताको पक्षमा रहेको सरकारलाई कसैले ढाल्न नसक्ने बताए ।
यो सरकारले इतिहासमै उदाहरणीय काम गरेर देखाएको नेपालको जिकिर छ । नेता नेपालले भने, ʽकांग्रेस सभापति शेरबहादुर देउवा ३ चोटी प्रधानमन्त्री भइसक्नुभएको छ, उहाँ किन सरकारमा जानुपर्यो ? सरकार दुई वर्ष टिक्छ । संविधानको कार्यान्वयन पनि यही सरकारले गर्छ, स्थानीय निकायको चुनाव पनि गर्छ । कांग्रेसले पनि यहि सरकारमा आएर सहयोग गर्नुस् ।ʼ यसअघि, प्रधानमन्त्री केपी ओली पक्षीय नेताहरुले नेता नेपाल राष्ट्रिय सहमतिको सरकारको कुरा झिक्दै ओली सरकार ढाल्ने भित्रि षड्यन्त्रमा लागेको आरोप लगाएका थिए । आफ्नै पार्टी नेतृत्वको सरकारको सोझै भन्दा घुमाउरो पाराले विरोध गरे कसैले प्वाक्कै भन्न नपाउने रणनीतिमा नेपाल लागेको आरोप उनीरुहले लगाएका थिए ।
पर्यटनको विकासका लागि हवाई क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएर एयरपोर्टभित्र सुधार गर्नेतर्फ नेता नेपालले सरकारको ध्यानाकर्षण गराए । एयरपोर्टका श्रमिकको नाममा ठेक्कामार्फत श्रमशोषण गर्ने ठेकेदारलाई कानुनी दायराभित्र ल्याएर कारबाही गर्नुपर्ने नेपालको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका सचिव योगेश भट्टराईले श्रम कानुन अन्तर्गत रहेर मजदुरलाई आफ्ना हक, अधिकारको माग गर्न आग्रह गर्दै बन्द, हड्तालको संस्कृतिलाई एमालेले नस्वीकार्ने बताए । कार्यक्रममा जिफन्टका उपमहासचिव जनक चौधरीले यो सरकारले श्रम ऐन र सामाजिक सुरक्षा ऐन तुरुन्तै पास गरि श्रमिजिवी वर्गको भावनाको कदर गर्नुपर्ने र देशको रुपान्तरण गर्नुपर्ने बताए ।
यूनिट्राभलका महासचिव सुमनप्रसाद पराजुलीले एक्काइसौं शताब्दीमा पनि ठेक्कामार्फत मानव बेचबिखन र श्रमशोषणको अन्त्य गर्नु पर्ने बताए । उनले भने, ʽनेपाल एयरलाइन्समा ठेक्कापट्टाको सट्टा सीधा भुक्तानी गर्ने गरी श्रमिकको स्थायी नियुक्ति दिनुपर्यो । ʽसंबिधानलाई चुनौति दिने खालका कम्पनीका विनियमावली खारेज हुनपर्यो । ठूलालाई चयन सानालाई ऐन भने जस्तो किसिमका विनियमावली तत्काल खारेज गरियोस् ।ʼ नेपालको एयरपोर्टको सुधार गरेर बढिभन्दा बढि पर्यटक ल्याउनुपर्ने उनको भनाई थियो ।
चौथो अधिवेशनले उमेश अधिकारीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा लोकबहादुर थापा, सचिवमा राजकुमार राययादव, कोषाध्यक्षमा हेमन्त गौतमलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा बयानसिंह राई , रंजनराज ढुंगाना, रवि चापागाई, कुमार गिरी र बासु भण्डारी चयन भएका छन् । जिफन्ट प्रतिनिधिमा रुपनारायण ढुंगाना छन् ।