बलिउड अवार्ड कार्यक्रमको खर्च सरकारले व्यहोर्ने, साझाले जनायो आपत्ति
'राज्यकोषको चरम दुरुपयोग'
प्रकाशित २०७६ असार १५ आइतबार
727
Shares
काठमाडौं । काठमाडौंमा हुने भनिएको बलिउड फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने भएपछि साझा पार्टीले आपत्ति जनाएको छ ।
राज्यकोषको चरम दुरुपयोग भएको भन्दै आइतबार साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यले विज्ञप्ति जारी गरि एक विदेशी निजी संस्थाको आयोजनामा हुने आइफाको सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने खबरमा ध्यानाकर्षण जनाएका छन् ।
सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरुको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय गरेको छ । सो निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर छ ।
यस अघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमको लागि सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको समेत पार्टीले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,' निजी संस्थाको कार्यक्रमको लागि बिना औचित्य करोडौँ खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएकोले उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन सरकारलाई साझा पार्टी आग्रह गर्दछ।'