arrow

एसियाडमा रजत दिलाउने युकेश र हिरो गोल्डकपमा उपविजेता बनाउने सावित्रा वर्ष उत्कृष्ट खेलाडी  

logo
प्रकाशित २०७६ असार १७ मंगलबार
pulsar-sports-award.jpg

काठमाडौँ । पल्सर स्पोर्टस अवार्डअन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार प्याराग्लाइडिङका युकेश गुरुङ र महिलातर्फ फुटबलकी सावित्रा भण्डारीले पाउन सफल भएका छन् ।   
     
 नेपाल खेलकूद पत्रकार मञ्चद्वारा मंगलबार यहाँ आयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औँ एसियाली खेलकूदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम स्पर्धामा युकेशले नेपाललाई रजत पदक दिलाएका थिए ।

उनी एशियाडमा नेपाललाई २० वर्षपछि रजत दिलाउँदा पाँचमध्येका प्रमुख खेलाडी थिए । वर्षको उत्कृष्ट पुरुष विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, जुडोका इन्द्रबहादुर राई र गल्फका शुक्रबहादुर राई मनोनयनमा परेका थिए ।      
     
 त्यस्तै वर्षको उत्कृष्ट महिला घोषित हुने फुटबलकी सावित्राले भारतमा भएको अन्तराष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन् । त्यतिबेला नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो ।

नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन उनको भूमिका महत्वपूर्ण थियो । उनको विधामा भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी नीमा गुरुङ र जुडोकी मनिता श्रेष्ठ मनोनयनमा परेका थिए ।     
     
 वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि एथलेटिक्सका अजितकुमार यादवले पाए । हङकङमा भएको तेस्रो एशियन युथ एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा यादवले नेपाललाई कीर्तिमानी स्वर्णपदक दिलाएका थिए ।     
     
 युवा खेलाडीमा अजितसँगै ब्याडमिन्टनमा प्रिन्स दाहाल, फुटबलकी मञ्जलीकुमारी योञ्जन, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका थिए ।     
     
 वर्ष २०७५ को उत्कृष्ट प्रशिक्षकको अवार्ड प्याराग्लाइडिङका योगेश भट्टराईले जिते । विगत २० वर्षपछि नेपाललाई एशियाली खेलकूद प्रतियोगितामा रजत पदक दिलाउँदा उनले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनीसँगै फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्ट मनोनयनमा परेका थिए ।     
     
 त्यस्तै पिपुल्स च्वाइसको अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितिन् । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले वर्षमा १० उपाधि जित्दा रेश्माको भूमिका महत्वपूर्ण थियो । उनीसँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्री भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयमा परेका थिए ।     
     
 टिम अफ दि इयरको उपाधि प्याराग्लाइडिङको टिमले जित्यो भने पारा एथलिटको अवार्ड दृष्टिविहीन क्रिकेटर मन केसी चौधरीले जितिन् । त्यस्तै स्पेशल अवार्ड फुटबलका रोहित चन्दले जित्दा लाइफ टाइम एचिभमेन्टको अवार्ड एथलेटिक्सका हरिबाहदुर रोकायले जिते । 
     
 त्यसैगरी अन्तराष्ट्रिय खेलकूद पत्रकार महासङ्घ (एआईपीएस) का महासचिव अम्जद अजिज मल्लिक इन्टरनेशनल एशियन स्पोट्र्स जर्नालस्ट अवार्ड’ बाट सम्मानित भए ।     
     
 वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डको विजेताले ट्रफिसहित बजाजको पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै अन्य विधाका विजेताले भने ट्रफी र जनही रु ५० हजार प्राप्त गरे ।     
     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ