arrow

चिनियाँ राष्ट्रपति र राष्ट्रसङ्घ महासचिवलाई लुम्बिनीमा आमन्त्रण

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
lumbini.jpg.jpeg
बुटवल। २५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा सहभागी हुन संयुक्त राष्ट्रसङ्घका महासचिव बान की मुन र चिनियाँ राष्ट्रपति सी जिन पिङलाई लुम्बिनीमा आमन्त्रण गरिएको छ । २५६० औँ बुद्धजयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्बन्धमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार आयोजना गरेको बृहत् अन्तरक्रियात्मक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री आनन्द पोखरेलले राष्ट्रसङ्घका महासचिव र चिनियाँ राष्ट्रपतिलाई लुम्बिनी भ्रमणको निम्तो दिएर आएको बताउनुभयो । 
 
मन्त्री पोखरेलले २०७३ जेठ ६, ७ र ८ गते हुने तीन दिवसीय २५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा राष्ट्र सङ्घका महासचिव मुन र चिनियाँ राष्ट्रपति पिङ आउने धेरै सम्भावना भएको जनाउँदै बुद्धजयन्ती समारोहका अवसरमा धेरै देशका राष्ट्रप्रमुख र राजदूतलाई समेत आमन्त्रण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रसङ्घ महासचिव र चिनियाँ राष्ट्रपतिले लुम्बिनी आउने इच्छा व्यक्त गर्नुभएको छ । मन्त्री पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिंघे, विहारका मुख्यमन्त्री नितीश कुमार र युनेस्कोका निर्देशक जनरल इरीनिया बेकाभालाई पनि निमन्त्रणा गरिएको बताउनुभयो । बुद्धजयन्तीका अवसरमा श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, भारत, चीन, भियतनाम, कम्बोडिया, जापान, भुटान, दक्षिण कोरिया, लाओस, मङ्गोलिया र इजरायलका संस्कृति तथा धार्मिक मामिला मन्त्रीहरु पनि सहभागी हुनुहुने मन्त्री पोखरेलले बताउनुभयो । 
 
लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पोखरेलले ‘लुम्बिनी नेपाल, द बर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड द फाउन्डेसन अफ बुद्धिज्म’ को नारासहित अन्तर्राष्ट्रिय सम्मेलन मनाउन गइरहेको जानकारी गराउनुभयो । कार्यक्रममा पूर्व राज्यमन्त्री घनश्याम यादवले लुम्बिनीको सार्थकतालाई विश्वभर फैलाउन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन महत्वपूर्ण हुने जनाउँदै बुद्धजयन्ती र बौद्ध सम्मेलनलाई सफल पार्न लुम्बिनी क्षेत्रका जनता एकताबद्ध भई लाग्नुपर्नेमा जोड दिनुभयो । 
 
सांसद इस्तियाक अहमद खानले बुद्ध र बुद्धधर्मलाई सही ढङ्गले विकास गर्ने अवसरको रुपमा आसन्न सम्मेलन अवसरको रुपमा अगाडि आएको हुँदा झिना मसिना असन्तुष्टिलाई केही समयका लागि छेउमा राखी सबैले एक भई सम्मेलन सफल पार्न लाग्नुपर्ने बताउनुभयो । 
 
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले २५६० औँ बुद्धजयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सभ्य र भव्यरुपमा सफल पार्न मन्त्रालयले स्थानीयवासीको सहयोग र उत्साहजनक साथ खोजेको जनाउँदै सबैले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो । 
 
कार्यक्रममा क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार तिलक आचार्य, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका क्षेत्रीय प्रमुख, लुम्बिनी विकास कोषका पदाधिकारी, रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रजिअ र सुरक्षा प्रमुखको उपस्थिति रहेको थियो । रासस 



नयाँ