चुहिएको पेट्रोल थाप्नेहरुको भिड लागेका बेला ट्याङ्कर विस्फोट, ३५ को मृत्यु

प्रकाशित मिति : २०७६ असार १८ बुधबार

लेगोस । नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १०१ जना घाइते पनि भएका छन् ।

बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो । सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ ।  

ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरुको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् ।

सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरुलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापर्वाही तरिकाले ट्याङ्कर चलाएका थिए । त्यही बेला ट्याङ्कर हल्लिएर पल्टिएको उनले बताए ।  

आगलागी हुनुभन्दा अगाडी कम्तीमा ४५ मिनेटसम्म स्थानीयवासीले पेट्रोलियम पदार्थ थापेका थिए । उनीहरुले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको थियो ।

मारिएका मध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन् ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले एक व्यक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाहरुप्रति दुःख व्यक्त रेका छन् भने घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।  सिन्ह्वा

नयाँ