काठमाडौं। बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिले समलिंगी तेस्रोलिंगीको साथ पाएको छ। नयाँ शक्ति नेपालले शुरु गरेको क्लिन काठमाडौं ग्रिन काठमाडौं अभियानमा समलिंगी तेस्रोलिंगीले उत्साह पूर्वक सहभागिता जनाएका हुन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीले अभियानका क्रममा विहान दुई घण्टा बौद्ध स्तुपामा सरसफाई गरेका थिए।
नयाँ शक्ति नेपालले शुरु गरेको क्लिन काठमाडौं ग्रिन काठमाडौं अभियानमा यौनिक तथा लैंगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा समूदायका सदस्यले उत्साहका साथ बौद्ध स्तुपा परिसरको सरसफाई गरेका हुन्। मन्दिर परिसरमा रहेको फोहोर हटाउन पाउँदा मनमा आनन्दको महसुस भएको नयाँ शक्ति अभियानकी केन्द्रिय परिषद् सदस्य समेत रहेकी समाजकी अध्यक्ष गुरुङले वताइन्। काठमाडौं सफा राख्नु पर्छ भन्ने चेतना सबैमा जागेमा फोहोरको दुर्गन्ध हट्ने उनको बिश्वास छ।
फोहोर हटाउँदै गरेका समलिंगी तेस्रोलिंगीलाई नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले चासो राखेर कति जना हुनुहुन्छ भनेर सोधेकी थिइन। हामी ५० जना भन्दा धेरै आएका छौ गुरुङले भनिन्। अघिल्लो हप्ता पशुपतिनाथ मन्दिर परिसरको फोहोर हटाउन समूदायका २ सय भन्दा धेरै सदस्य सहभागी थिए। सरसफाइपछि हिसिलाले समलिंगी तेस्रोलिंगीसँगै सामूहिक तस्विर पनि खिचाईन। हिसिलाले हामीसँगै आएर फोहोर हटाउनु भयो, हामी धेरै खुशी छौ समलिंगी तेस्रोलिंगीले भने, हामीमा हौसला बढेको छ।