arrow

व्यापारयुद्धको फाइदा उठाउने सफल मुलुकहरु

logo
प्रकाशित २०७६ असार १९ बिहिबार
trade-war-ship.jpg

काठमाडौं। अमेरिका–चीन व्यापारयुद्ध पछिल्लो समय चर्किँदो क्रममा छ। अझै केही समय यो विवाद साम्य हुने अवस्थामा देखिदैन्। गत शनिवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङको बीचमा थप कर बढाउने र व्यापारवार्ता पुनः शुरु गर्ने सहमति भएको छ। तर, तत्कालका लागि चिनियाँ सामग्रीमा लाग्दै आएको कर नहट्ने निर्णयले भने अझै व्यापारयुद्धको प्रभाव विश्व बजारमा जारी रहनेछ। 

यस्तोमा विश्व अर्थतन्त्रमा नै समस्या आउनसक्ने विश्लेषकले बताउँदै आएका छन्। यसैक्रममा विश्वका चार मुलुकले भने व्यापार युद्धको फाइदा उठाउन सफल भएका छन्। व्यापारयुद्धको फाइदा उठाउने मुलुकमा भियतनाम, ताइवान, बंगलादेश र दक्षिण कोरिया छन्। ट्रम्पले लगाएको अतिरिक्त आयातकरको कारण अमेरिकीहरु चीनबाट कममात्र सामग्री खरीद गरिरहेका छन्। त्यसैले उनीहरुको आँखा अन्य एसियाली मुलुकमा परेको छ। 

गत वर्षदेखि शुरु भएको व्यापारयुद्ध पनि यस वर्षको शुरुवाती पाँच महीनामा अमेरिकाले १२ प्रतिशत कम चिनियाँ सामग्री आफ्नो मुलुकमा भित्र्याएको छ। तर, भियतनाम, ताइवान, बंगलादेश र दक्षिण कोरियाबाट हुने आयातमा भने उल्लेख्य वृद्धि भएको छ। वर्षको शुरुवाती ५ महीनामा अमेरिकाको भियतनामबाट हुने आयात ३६ प्रतिशत बढेको छ। ताइवानको आयात २३ प्रतिशत बढ्दा बंगलादेशबाट हुने आयातमा १४ प्रतिशतको वृद्धि देखिएको छ। साथै दक्षिण कोरियाबाट हुने आयातमा भने १२ प्रतिशतको वृद्धि भएको छ। 

ट्रम्पले लगाएको अतिरिक्त आयातकरको कारण बेसबलको क्याप, लगेन, साइकल र ह्याण्डब्यागलगायतका चीनमा उत्पादन हुने सामग्री आयातकर्ताको लागि महँगो पर्न गएको हो। त्यसका साथै वासिङ मेसिन, ड्रायर र पानी प्रशोधकलगायतका सामग्रीमा पनि अतिरिक्त महशुलको असर देखिएको छ। 

यस्तोमा अमेरिकी कम्पनीले आफ्नो उत्पादन पनि चीनबाट अर्को मुलुकमा सार्ने घोषणा गरिसकेका छन्। तर, चिनियाँ सामग्रीमाथिको करले चीनको जति सुलभ मूल्यमा   सामग्री अरु देशले अमेरिका निर्यात भने गर्न सक्दैनन्। अन्य मुलुकमा चीनमा जति गुणस्तरको सामग्रीको निर्माण त्यति सस्तो मूल्यमा उत्पादन हुन सक्दैन। 

गत मे महीनामा अमेरिकाको चेम्बर अफ कमर्स र उसको शाखाले सांघाईमा गरेको सर्वेक्षणले ४० प्रतिशत कम्पनीले आफ्नो चीनको उत्पादन अन्य मुलुकमा सार्ने तयारी भइरहेको बताएका थिए। जसमध्ये ६ प्रतिशतभन्दा कम कम्पनीले मात्र आफ्नो चीनको उत्पादन अमेरिकामा सार्ने योजना रहेको बताएका थिए। 

दक्षिण कोरिया र भियतनामले आफ्नो विद्युतीय उत्पादन तथा घरेलु सामग्रीमा जोड दिएको कारण उक्त मुलुकबाट अमेरिकाले आयात बढाएको हो। ताइवान र दक्षिण कोरियाले पछिल्लो समय उच्च प्रविधिका सामग्रीमा आफ्नो ध्यान केन्द्रित गरेक छन्। मानिसको कपडा तथा जुत्तामा बंगलादेशले पनि उल्लेख्य सुधार गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ