arrow

जाजरकोटमा पाइने काइनाइट उच्च गुणस्तरको भएको दाबी

logo
प्रकाशित २०७२ चैत १३ शनिबार
Kainite-SHS70914-01.jpg.jpeg
जाजरकोट। जाजरकोटको टालेगाउँ गाविसमा पाइने पत्थर काइनाइट विश्वकै उच्च गुणस्तरमा परेको छ । विभिन्न स्थानमा पाइने नवरत्न पत्थरमध्ये टालेगाउँमा पाइने काइनाइट विश्वकै उच्च गुणस्तरमा पर्ने घरेलु साना उद्योग विकास समिति सुर्खेतका निर्देशक विनोददेव पन्तले जानकारी दिए । आठ हजार प्रकारका ढुङ्गामध्ये ८०० देखि एक हजार प्रकारका ढुङ्गामा रत्न पत्थर हुने निर्देशक पन्तले बताए  । एक हजार रत्न पत्थरमध्ये टुमार्लिन, काइनाइट, रुबी, हेम्वरगाइड, डेम्वराइट, गार्नेट, क्रिष्ट्रनलगायतका आठ प्रकारका रत्न पत्थर नेपालमा पाइने पन्तको भनाइ छ । 
 
निर्देशक पन्तका अनुसार धादिङमा पाइने रुबी र जाजरकोटको टालेगाउँमा पाइने काइनाइट विश्वकै उच्च कोटीको पत्थर हुन् । ताप्लेजुङमा हेम्वरगाइड पाइन्छ भने सङ्खुवासभामा डेम्वराइट र गार्नेट पाइने गरेको छ । जाजरकोटका विभिन्न स्थानमा काइनाइट, टुमार्लिन, क्रिष्ट्रन जस्ता बहुमूल्य पत्थर पाइने गरेको छ । पैंकको जलजलामा एकोमारिनको अनुसन्धान भइरहेको भूगर्भ तथा खानी विभाग र घरेलु विकास समितिले जनाएको छ । बहुमूल्य रत्न पत्थरलाई मान्छेले चिन्न नसकेर खुट्टाले कुल्चदै हिँड्ने गरेको निर्देशक पन्तको भनाइ छ । 
 
नागरिकलाई बहुमूल्य रत्न पत्थरबारे जानकारी दिन घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय सुर्खेतले ४० जनालाई जाजरकोटमा १० दिने बहुमूल्य रत्न पत्थर सचेतना तालिम दिइरहेको छ । सचेतना तालिम आगामी चैत १६ गतेसम्म चल्ने छ । उक्त तालिममा विशेष गरी रत्न पत्थरको उपयोगिता, महत्व र प्रकारबारेमा जानकारी गराइने बताइएको छ । यसलगत्तै तीन महिने सीप विकास तालिमका रुपमा बहुमूल्य रत्न पत्थरको प्रशोधनसम्बन्धी तालिम सञ्चालन गरिने मुख्य शाखा कार्यालय सुर्खेतले जनाएको छ । 
 
उक्त तालिममा पत्थर कटिङ, ड्रिलिङ र पालिसिङको तरिकासम्बन्धीको सीप सिकाइने छ । प्राकृतिक तथा कृत्रिम पत्थरमाथि प्रशिक्षण केन्द्रित गरिने घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालय जाजरकोटका प्रमुख शेरबहादुर शाहीले बताए । तीन महिनासम्म चलाइने तालिममा भारतको जयसपुर र नेपालकै विज्ञ प्रशिक्षकलाई बोलाएर प्रशिक्षण दिने तयारी भइरहेको बताइएको छ । 
 
पत्थर प्रशोधन, जनशक्ति उत्पादन भएमा जिल्लाले जेम्स उद्योग सञ्चालन गर्ने लक्ष्य राखेको छ । जिल्लामा सञ्चालन गरिने जेम्स उद्योगको नेतृत्व उद्योग वाणिज्य सङ्घले गर्ने बताइएको छ । हालसम्म घरेलु तथा साना उद्योग विकास समिति जाजरकोट शाखामा जेएफ रत्न पत्थर उद्योग मात्र दर्ता भएको छ भने सुर्खेतमा १२ वटा उद्योग दर्ता भएको बताइएको छ । 
 
बहुमूल्य पत्थरका लागि मध्यपश्चिमकै महत्वपूर्ण तथा सम्भावनायुक्त जिल्लाको रुपमा जाजरकोटलाई लिइन्छ । जिल्लामा वर्षौंदेखि उत्खननसम्बन्धी काम गर्दै आएका १८ वटा कम्पनीमध्ये यस वर्ष एक कम्पनीले फर्म नवीकरण नगर्दा खारेजीमा परेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ