arrow

नेपालले १० रनमा रोकेर २ बलमै खेल जित्न सक्छ भने पाकिस्तानले बंगलादेशलाई किन सक्दैन ?

कुन गणितले बचाउँछ पाकिस्तानलाई ? बंगलादेश कमजोर छ र ? 

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
world-cup2.jpg

काठमाडौं । इंगल्याण्डमा भइरहेको एक दिवसीय विश्वकप क्रिकेटमा शुक्रबार दुई दक्षिण एसियाली प्रतिद्धन्द्धीहरु पाकिस्तान र बंगलादेश भिड्दै छन् । 

दिउँसो ३ः१५ बजे लर्डसको मैदानमा हुने खेलको परिणामले सेमिफाइनल समीकरणलाई असर नपार्ने लगभग पक्का छ । 

तर गणितको विभिन्न समीकरण लगाएर पाकिस्तानले विशाल भन्दा पनि विशाल अन्तरले खेल जित्ने हो भने सेमिफाइनलमा पुग्न सक्ने चर्चाहरु अहिले क्रिकेट पंडितहरुले गरिरहेका छन् । 

क्रिकेटमा असम्भव केही पनि छैन । मात्र १० बलले १० जना ब्याट्सम्यान ‘शून्य’ योगफलमै आउट हुन सक्छन् । 

अर्थात् बिना कुनै चुनौती पनि टिम अलआउट हुँदै लुरुलुरु पेभेलियनको बाटो लाग्न सक्छ । जवाफमा आउनेले १ बनाए खेल जित्छ । 

त्यो परिणाम पनि नहोला भन्न सकिन्न । र कहिले कुनै पनि विकेट नै नढली पनि ५० ओभरको खेल पूरा हुन सक्छ । 

अनि हरेक बलमा ६ छक्का प्रहार गर्दा १८०० रन बन्न सक्छ । जे पनि हुन सक्छ । असम्भव केही पनि छैन । 

विश्वकप मै भारतीय क्रिकेट खेलाडी युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गर्दा सुरुआती क्रममा अविश्वास भयो । तर त्यो यथार्थ थियो । 

जब एक ओभरमा ६ छक्का हान्न सकिन्छ भने ५० ओभरमा सबै छक्का हान्न असम्भव त पक्कै हैन । 

यिनै तथ्यलाई केलाउने हो भने पाकिस्तानले पहिले ब्याटिङ गर्दै अहिलेसम्म एक दिवसीयमा नबनेको स्कोर बनाउन सकोस् । अनि बंगलादेशलाई झिनो रनमै समेट्न सकोस् । 

यस्तो भयो भने पाकिस्तान पनि सेमिफाइनलमा पुग्नेछ । न्यूजिल्याण्डलाई रन रेटमा पछाडि पार्दै । 

खेल रन रेटको 
पाकिस्तानलाई गणितको सहारा चाहिएको केवल रन रेटका कारण हो । पाकिस्तानको ९ अंक छ । उसको रन रेट भने माइनसमा चलिरहेको छ ।

माइनस ०.७९२ रहेको छ रन रेट । अनि न्यूजिल्याण्डको ११ अंक छ । उसको रन रेट प्लसमा ०.१७५ छ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्नका लागि प्लस ०.१७५ भन्दा माथि हुनुपर्नेछ । 

त्यसका लागि अहिलेसम्मका असम्भव भएका रेकर्डहरु पाकिस्तानले तोड्नु पर्नेछ । तर असम्भव छैन । 

सामान्य हिसाबले पनि भन्ने हो भने पाकिस्तानले पहिले ब्याटिङ गर्दा ३०० रन पार गर्ने हो भने १० रनसम्मकै अलआउट गरिसक्नुपर्नेछ बंगलादेशलाई । 

इतिहासले यो सम्भव देखाउँछ त ? 
नेपालले १३ वर्षअघि म्यानमारसँग खेलेको थियो । त्यो खेलमा नेपाली टोलीले मात्रै दुई बलमा खेल जित्दै कीर्तिमान बनाएको थियो ।

एसिसी ट्रफी क्रिकेट अन्तर्गत मलेसियामा भएको उक्त खेलमा म्यानमारले १२.१ ओभरमा अलआउट हुँदै १० रन मात्र बनाएको थियो । 

नेपालका मेहबुब आलमले ७ तथा विनोद दासले ३ विकेट लिएका थिए ।

११ रनको विजयी लक्ष्य नेपालले दुई बलमै पूरा गरेको थियो ।

यो रेकर्ड अब नेपालले सायदै राख्ला । 

यसलाई आधार बनाउँदा पाकिस्तानले चमत्कार गर्न नहुने कहाँ लेखेको छ ? 

तर एक दिवसीयमा अहिलेसम्म भएका नतिजालाई आधार मान्ने हो भने श्रीलंकाले सन् २००४ मा जिम्बाबेलाई १८ ओभरमा अलआउट गर्दै ३५ रनमा रोकेको थियो । 

क्यानडालाई सन् २००३ मा श्रीलंकाले १८.४ ओभरमा अलआउट गर्दै ३६ रनमा रोकेको थियो । 

श्रीलंकाले नै जिम्बाबेलाई सन् २००१ मा १५.४ ओभरमा अलआउट गर्दै ३६ रनमा रोकेको थियो । 

त्यस्तै वेष्ट इन्डिजले पाकिस्तानलाई सन् १९९३ मा १९.५ ओभरमा अलआउट गर्दै ४३ रनमा रोकेको थियो । 

त्यस्तै सन् २००० मा श्रीलंकाले भारतलाई २६.३ ओभरमा अलआउट गर्दै ५४ रनमै रोकेको थियो । 

सोही रनमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई रोकेको थियो सन् २००४ मा । 
 

त्यस्तै श्रीलंकाले जिम्बाबेलाई २४.५ ओभरमा अलआउट गर्दै ४४ रनमा रोकेको थियो । 

अब पालो बंगलादेशको 
बंगलादेश अहिले रनरेटमा पाकिस्तानभन्दा माथि छ । पाकिस्तानको माइनस ०.७९२ हुँदा बंगलादेशको माइनस ०.१९५ रहेको छ । 

बंगलादेशले जारी विश्वकपमा दक्षिण अफ्रिका, वेष्ट इन्डिज र अफगानिस्तानलाई हराएको थियो । कुनै समय बंगलादेश सेमिफाइनलको दावेदार बनिरहेको थियो । 

बंगलादेशले जुन खेलमा हारे पनि लज्जास्पद हार बेहोरेको थिएन । त्यसैगरी हार खेप्दा पनि अष्ट्रेलियाविरुद्ध ४८ रनले हार्दा पनि ३३३ रन बनाएको थियो । 

बंगलादेशका अलराउन्डर शाकिब अल हसनले जारी विश्वकपमा सनसनी मच्याएका छन् । 

उनी म्यान अफ द सिरिजका प्रमुख दावेदार हुन् । उनलाई रोक्न सक्नु पाकिस्तानका लागि ठूलै उपलब्धी हुनेछ । 

अर्थात् बंगलादेशले पाकिस्तानलाई नै हराउने सम्भावना देखिएको छ । जुन गतिले पाकिस्तानले खेलिरहेको छ त्यो त्यति चामत्कारिक छैन । 

पाकिस्तान सन् १९९२ को विश्वकप विजेता हो । जतिबेला बंगलादेशले विश्वकप खेल्नसमेत थालेको थिएन । यसअर्थमा बंगलादेशले जारी विश्वकपमा धेरै सुधार गरिसकेको छ । पराजित भएर विश्वकपबाट बाहिरिँदा पनि बंगलादेशलाई अबका विश्वकपमा सेमिफाइनल पुग्न सक्ने एक दावेदार टिमका रुपमा हेर्न थालिएको छ । 

यी आँकडाहरु सामुन्ने हुँदा कतै विश्वका क्रिकेट पंडितहरुले गणितको हवाला दिँदा दिँदै पाकिस्तान नै त कतै पराजयको बाटोमा पुग्दै छैन ? 

अंक तालिका 
अंक तालिकामा एक एक खेल खेल्न बाँकी छँदा अष्ट्रेलिया १४ अंक सहित शीर्ष स्थानमा छ । अष्ट्रेलियाले अब दक्षिण अफ्रिकासंग खेल्न बाँकी छ । 

त्यसैगरी १३ अंकबाट दोस्रो स्थानमा रहेको भारतले श्रीलंकासंग खेल्न बाँकी छ । अष्ट्रेलिया र भारतमध्ये एक टिम शीर्ष स्थानमा पुग्नेछ भने अर्को टिम दोस्रोमा हुनेछ । 

तेस्रो स्थानको इंगल्याण्डको १२ र चौथो स्थानको न्यूजिल्याण्डको ११ अंक छ । पाकिस्तानले असम्भवलाई सम्भव नबनाए न्यूजिल्याण्ड चौथोमै रहेर सेमिफाइनल खेल्नेछ । 

सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टिम भिड्ने छन् । भारतले शनिबार श्रीलंकासंग खेल्नेछ र अष्ट्रेलियाले दक्षिण अफ्रिकासंग खेल्नेछ । 

शनिबारै छिनोफानो हुनेछ सेमिफाइनल समीकरण ।  

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ