arrow

रत्नसागर मन्दिरका महन्तले अधिकृत झाको गोली हानी हत्या गरेको ठहर

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ असार २० शुक्रबार
mahanta-das.jpg

जनकपुरधाम । जनकपुरधाम वडा नम्बर ८ मा रहेको रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई हत्यासम्बन्धी मुद्दामा उच्च अदालत जनकपुरले १२ वर्ष जेल सजाय सुनाएको छ। जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालिन शाखा अधिकृत लाल झाको हत्यासम्बन्धी मुद्दामा अदालतले बुधबार यस्तो सजाय सुनाएको हो ।

जनकपुरधाम–८ स्थित आफ्नो घरबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कार्तिक ११  गते घर नजिकै गोली प्रहार गरी हत्या भएको थियो।

उच्च अदालतका मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला पल्टाउँदै महन्त दासलाई १२ वर्षको जेल सजाय सुनाएका हुन् ।

उच्च अदालतले घटनाका योजनाकार महन्त दास रहेको ठहर गरेको पीडितका तर्फबाट बहस गरेका अधिवक्ता विमल मिश्रले बताए ।  यसअघि जिल्ला अदालत धनुषाका ओमकार उपाध्यायको इजलासले घटनामा संलग्न भनिएका शिवकुमार ठाकुर, सुनिलकुमार अधिकारी र राकेश पाण्डेयलाई जन्मकैदको फैसला सुनाएको थियो भने महन्त दासलाई सफाइ दिएका थिए ।

उच्च अदालतले शिवकुमार, सुनिल र राकेशको हकमा भने जिल्ला अदालतको फैसलालाई सदर गरेको हो ।केही दिनअघिमात्र किर्ते जालजासी गरी मठ मन्दिरको जग्गा बेचबिखन गरेको मुद्दामा उच्च अदालत जनकपुरले दासलाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएका थिए।

उच्च अदालतको यस्तो आदेश आएसँगै महन्त दास फरार रहेका छन् । हत्यासम्बन्धी मुद्दामा उच्च अदालतले सुनाएको फैसलालाई चुनौती दिन दास पुर्पक्षको लागि थुनामा बस्नै पर्ने अधिवक्ता मिश्रले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ