arrow

पेट्रोलियम अन्वेषण क्षेत्रमा प्रहरीचौकी राख्न माग

logo
प्रकाशित २०७६ असार २० शुक्रबार
petrol-khani.jpg.jpeg

कर्णाली । कर्णाली प्रदेशसभाको आजको बैठकमा सदस्यले दैलेखको पञ्चकोशी क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् । विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरुले पेट्रोलियम पदार्थको अन्वेषणका लागि पञ्चकोशी क्षेत्रमा चिनियाँ टोली खटिएकाले आवश्यक सुरक्षा र बैंकिङ सुविधाको माग गरेका हुन् ।

प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले सङ्घीय सरकारले चीन सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गरिसकेकाले आवश्यक वातावरण मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए । सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुशिलकुमार थापाले मुख्य अन्वेषण क्षेत्र शिरस्थान र नाभिस्थानमा प्रहरीचौकी र बैंकको खाँचो रहेको बताए ।

“चिनियाँ टोली पञ्चकोशी क्षेत्रमा छ, लामो समय बस्दैछ, शिरस्थान क्षेत्रमा प्रहरीचौकी छैन्”, उनले भने, “असुरक्षाको अवस्था सिर्जना भएको खण्डमा अन्वेषणकै काम प्रभावित हुनसक्छ, त्यसैले प्रदेश सरकार पनि सुरक्षाको सवालमा गम्भीर बनोस् ।”

बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भेरी–बबई डाइभर्सन आयोजनालाई लिएर प्रदेश र सङ्घ सरकारबीच द्वन्द्व सिर्जना भएको बताए । प्रभावित क्षेत्रले पाउने सेवा–सुविधा तथा क्षतिपूर्तिका सम्बन्धमा प्रदेशले तत्काल सङ्घीय सरकारसँग संवाद गर्नुपर्नेमा उनले जोड दिए।

प्रदेशसभा सदस्य पद्मा खड्काले विकास आयोजनाको प्रभावकारी अनुगमन गर्न सरकारसँग आग्रह गरे । बैठकमा प्रदेशसभा सदस्य पदम रोकाया, कृष्णा शाह, दानसिं परियार, शोसिला शाही र ठम्मर विष्टले समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ