टर्कीको केन्द्रीय बैंकका गभर्नर राष्ट्रपतिको आदेशमा बर्खास्त
एएफपी,
प्रकाशित २०७६ असार २१ शनिबार
626
Shares
अङ्कारा। टर्कीले यहाँको केन्द्रीय बैंकका गभर्नरलाई वर्खास्त गरेको राष्ट्रपतिको कार्यालयले शनिबार जानकारी गराएको छ। सन् २०१६ मा गभर्नरको जिम्मेवारी पाएका मुरत सेतिन्कायलाई शनिबार प्रकाशित राजपत्रमा राष्ट्रपतीय घोषणा सार्वजनिक भएको हो। सेतिन्कायको स्थान यसअघि डेपुटी गभर्नरका रूपमा कार्यभार सम्हाल्दै आएका मुरत यूसाले गर्नेगरी तोकिएको छ।
सेतिन्कायलाई किन हटाइएको भन्नेबारे पत्रमा कुनै कारण उल्लेख गरिएको छैन। व्याजदर कटौतिका लागि सरकारले गरेको प्रस्तावमा सेतिन्कायले नमानेपछि सरकार र बैंकबीचको विवाद बाहिरिएपछि उहाँलाई हटाउने हल्लाहरू भने नागरिक स्तरमा नै चर्चा भएका थिए।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बैंकलाई उच्च ब्याजदर घटाउन पटक पटक निर्देशन दिएपनि सेन्तिकायले प्राविधिक समस्या देखाउँदै परिवर्तन गर्न आनाकानी गर्दै आएका थिए। राष्ट्रपतिले उच्च ब्याजदरलाई ‘सबै दुर्जनहरूको अविभावक’ को सज्ञा दिँदै आएका थिए।
गत अगस्टमा टर्कीको मुद्रामा देखिएको सङ्कटसँगै आधार विन्दुबाट ६२५ अङ्क वृद्धि गर्दै ब्याजदरलाई २४ प्रतिशत पुर्याएका थिए। सेतिन्कायले ब्याजदर वृद्धिलाई निर्विकल्प उपाय बताउँदै आएका थिए।
नवघोषित गभर्नरले आफूले मौद्रिक नीतिमा आधारित भएर ‘स्वतन्त्र’ रूपमा काम गर्ने, मूल्यको स्थिरता प्रत्याभूत गर्नु आफ्नो प्रमुख लक्ष्य रहने बताउनुभएको केन्द्रीय बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ कार्यक्रमबारे उहाँले आगामी दिनमा छिट्टै पत्रकार सम्मेलन गरी जानकारी दिने पनि बैंकद्वारा जारी विज्ञप्तिमा बताइएको छ।
टर्कीको मुद्रास्फीति दर मे महिनामा १८.७१ रहेकोमा जुनमा १५.७२ कायम भएको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कहरूमा उल्लेख छ। उक्त दर यस बर्षको शुरूदेखि अहिलेसम्मकै सवैभन्दा निम्न दर हो।