पारीबाट आएको खोकीको आवाजले नै राष्ट्रवादी सरकार थला पर्यो : गगन थापा
प्रकाशित २०७६ असार २२ आइतबार
769
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सीमा पारीबाट आउने तरकारीको स्वास्थ्य परीक्षणमा विदेशी हस्तक्षेपबाट खुट्टा कमाएको भन्दै विरोध गरेका छन् । संसदको शून्य समयमा बोल्दै नेता थापाले सरकारले विषादी परीक्षण नगरी तरकारी आयात गर्न दिएको भन्दै प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद स्पष्ट देखिएको बताएका छन् ।
नेता थापाले पारीबाट आएको खोकीको मन्द आवाजले नै राष्ट्रवादी सरकार थला परेको भन्दै उनको राष्ट्रवाद त पहिले नै देखिईसकेको बताएका छन् । 'जनताको साथ पाएपछि मेरो देशमा विषादी परीक्षण नगरी तरकारी भित्रिन दिने छैन भनेर भन्छ भन्ने विश्वास थियो । त्यति मात्रै होईन जनताको यति धेरै साथ पाएपछि त यताबाट जाने चिया र अलैँचीको पनि हिसाब किताब राख्ला कि भनेको त पारीतिरबाट आएको खोकीको मन्द आवाजले नै सरकार थला पर्यो ।' थापाले भने ।
नेता थापाले सरकारले विषादी परीक्षण गर्ने सरकारी निर्णय निकै सकारात्मक रहेको भन्दै यसको प्रतिपक्षीले समेत समर्थन गरेको भएपनि सरकारले यसमा खुट्टा कमाउँदा दुख लागेको बताए । 'तरकारी केही महँगो भए पनि हामी सहन तयार भयौं, हाम्रो साथ पाएपछि सरकार आफ्नो निर्णयमा अडिने विश्वास थियो' नेता थापाले भने 'तर पारीबाट आएको सानो धक्काले हल्लिएर पछि हट्यो।’
उनले केही समय महँगोको तरकारी खाऊँ, तिहुनबिनाको तरकारी खाऊँ भनेर जनता त्यसमा तयार हुँदा पनि सरकार पछि हटेको उनको आरोप छ । बिलम्ब नगरी भन्सार विन्दुमा परीक्षण केन्द्र बनाएर परीक्षण गर्नुको सट्टा विदेशी हस्तक्षेप स्वीकारेर निर्णय फिर्ता लिनुले राष्ट्रवादी खुट्टा देखिसकिएकै हो भन्दै घुँडामा भ्वाङ कत्रो परेको छ, देखाइदिन प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।