arrow

दोस्रो सेमिफाइनलमा इंगल्याण्डसँग भिड्दै अष्ट्रेलिया, कसले मार्ला बाजी ?

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
aus-england.png

काठमाडौं । विश्वकप क्रिकेट २०१९ को दोस्रो सेमिफाइनल अन्तर्गत बिहीवार घरेलु टोली इंगल्याण्ड र अष्ट्रेलियाको बीचमा प्रतिस्पर्धा हुनेछ । अष्ट्रेलिया लिगचरणको खेलमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो भने इंगल्याण्डले तेस्रो हुँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

लिगचरणमा अष्ट्रेलियाले ९ मध्ये ७ खेल जितेको थियो भने इंगल्याण्डले ६ खेलमा जित हासिल गरेको थियो । लिगचरणमा भएको खेलमा अष्ट्रेलियाले इंगल्याण्डलाई पराजित गरेको थियो । 

बिहीवार  बर्मिङघमस्थित एड्ग्बास्टोन मैदानमा उनीहरुको बीचमा प्रतिस्पर्धा हुनेछ । 

विश्वकपमा अष्ट्रेलिया

आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि अष्ट्रेलियाले पाँचपटक जितेको छ । अष्ट्रेलिया सबैभन्दा धेरैपटक विश्वकप जित्ने मुलुक हो । अहिलेसम्म अष्ट्रेलियाबाहेक अन्य मुलुकले दुईपटकभन्दा धेरै विश्वकपको उपाधि जित्न सकेका छैनन् । उसले सन् १९८७, १९९९, २००३, २००७  र २०१५ मा गरी पाँचपटक यो उपाधि जितिसकेको छ । 
१२ औं संस्करणको प्रतियोगिता चलिरहँदा अष्ट्रेलिया ७ पटक फाइनलमा पुगिसकेको छ । 

अष्ट्रेलिया डिफेन्डिङ च्याम्पियन मुलुक पनि हो । यसपटकको विश्वकपमा पनि अष्ट्रेलियालाई उपाधिको दाबेदार मानिएको छ । अष्ट्रेलियाले विश्वकपमा अहिलेसम्म ९० खेल खेलेको छ । जसमा ६७ खेल जितेको छ भने २१ खेल हारेको छ । २ खेलमा कुनै निर्णय आएको थिएन । 

विश्वकपमा इंगल्याण्ड 

अहिलेसम्म इंगल्याण्डले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न सकेको छैन । क्रिकेटको जननी मानिए पनि अहिलेसम्म विश्वकप जित्न नसकेको छवि सुधार गर्ने दाउ इंगल्याण्डको छ । यो टोली तीनपटक फाइनलमा पराजित भएको छ । 

सन् १९७९, १९८७ र १९९२ मा गरी तीनपटक इंगल्याण्ड फाइनलमा पुगेको थिये । तर, त्यसयता २७ वर्षमा यो टोली विश्वकपको सेमिफाइनलसम्म पनि पुग्न सकेको थिएन । यसपटक यो टोलीलाई विश्वकप जित्ने राम्रो मौका छ ।  इंगल्याण्डले विश्वकपमा अहिलेसम्म ७८ खेल खेलेको छ । जसमा ४५ खेलमा जित हासिल गरेको छ भने ३१ खेल हारेको छ । २ खेलमा कुनै निर्णय निस्किएको थिएन । 

हेड टु हेड

अष्ट्रेलिया र इंगल्याण्डको बीचमा अहिलेसम्म एकदिवसीय विश्वकपमा ८ पटक भेट भएको छ । जसमा अष्ट्रेलियाको पल्लाभारी छ । अष्टेलियाले ८ मध्ये ६ खेल जितेको छ । इंगल्याण्डले भने केवल २ खेल जितेको छ । सन् १९९२ को विश्वकपपछि इंगल्याण्डले अष्ट्रेलियालाई विश्वकपको खेलमा हराउन सकेको छैन । 

अहिलेसम्म अष्ट्रेलिया र इंगल्याण्डको बीचमा १ सय ४७ एकदिवसीय क्रिकेटमा भेट भएको छ । जसमा अष्ट्रेलियाले ८१ खेलमा जित हासिल गरेको छ भने इंगल्याण्डले ६१ खेलमा जित पारेको छ । 

मैदान 

बिहीवारको खेल बर्मिंघमस्थित मैदानमा हुनेछ । यो मैदानको औसतमा पहिला ब्याटिङ गर्नेले २२१ र दोस्रो ब्याटिङ गर्नेले १८५ औसतमा बनाएको इतिहास छ । सबैभन्दा उच्च स्कोर ४ सय ८ रन छ । यो मैदानमा सबैभन्दा कम स्कोर ७० रनको छ । स्मरणीय छ यो मैदानमा बनेको सबैभन्दा कम रनको स्कोर अष्ट्रेलियाले इंगल्याण्ड विरुद्ध नै बनाएको थियो । बिहीवारको विजेताले फाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ