arrow

अमेरिकाले युद्ध शुरु गरे इजरायलमाथि बम वर्षाउने हिजबुल्लाको चेतावनी

logo
प्रकाशित २०७६ असार २८ शनिबार
lebon-isral-us.png

काठमाडौं। लेबनानको आतंकवादी संगठन हिजबुल्लाले अमेरिकाले इरानमाथि युद्ध शुरु गरे इजरायलमाथि आक्रमण गर्ने बताएको छ। संगठनका नेताले एक टीभी च्यानलसँगको कुराकानीको क्रममा इरानसँग युद्धको अवस्थामा पूरै शक्ति र निष्ठुरताको साथमा इजरायलमाथि बमबारी गरिने बताएका छन्। 

हिजबुल्लाको यस्तो भनाइ अमेरिका र इरानबीचको विवाद जारी रहेको अवस्थामा आएको हो। केही समयअघि मात्र इरानले आफ्नो परमाणु कार्यक्रम तय गरिएको सीमाभन्दा पनि अघि बढाएको खुलेको थियो।

अमेरिकाले यस विषयमा असन्तुष्टि जनाउँदै आएको छ। यसअघि इरानी सेनाले अमेरिकाको एक ड्रोनलाई खसालेको थियो। प्रतिवेदनअनुसार यसपछि डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणको आदेश पनि दिएका थिए। तर, पछि त्यसलाई फिर्ता लिएका थिए। आतंकवादी संगठनका नेताले आफ्नो जिम्मेवारी इरानमाथि अमेरिकाको आक्रमण रोक्नु रहेको बताएका छन्। उनले साउदी अरेबिया र यूएई पनि युद्धको पक्षमा नरहेको उनको भनाइ छ।

हिजबुल्लाले इरानबाट सैन्य तालिम, हतियार र आर्थिक सहयोग पाउँदै आएको छ। यसका साथै सिरियाको असद सरकारले पनि यो संगठनलाई सहयोग गर्दै आएको छ। त्यसका साथै इजरायलको दुवै मुलुकसँग तनावको अवस्था छ। इजरायलका प्रधानमन्त्री नेतान्याहूको सरकारले इरानले आफ्नो मुलुकविरुद्ध सिरियाको जमिनको प्रयोग गरिरहेको आरोप लगाएको छ।

सन् २००६ मा हिजबुल्लाका लडाकुले इजरायलमा रकेट प्रहार गरेका थिए। यो घटनामा केही इजरायली सैनिक घाइते भएका थिए। साथै उक्त लडाकुले उनीहरुलाई बन्दी बनाएका थिए। संगठनले सैनिकको बदलामा  लेबनानको बन्दी छाड्ने शर्त राखेको थियो। तर, इजरायलले लेबनानमा हवाई आक्रमण गर्‍यो। जसमा १२ सय जना मारिएका थिए। मृत्यु हुनेमा अधिकांश सर्वसाधारण थिए। इजरायलका पनि १ सय ६० सैनिक मारिएका थिए। 

हिजबुल्लालाई अमेरिका, ईयू, क्यानडा र अन्य केही मुलुकले आतंकवादी संगठनको दर्जा दिएका छन्। लेबनानमा यो संगठनको एक राजनीतिक दल पनि छ। गत वर्षको निर्वानमा उक्त दलले १३ सिटमा कब्जा जमाएको थियो। राजनीतिक प्रभावको मन्त्रिपरिषद्मा भने तीन सदस्य सामेल छन्।

सन् २००६ अगष्ट ११ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले दुवै पक्षको बीचमा युद्धविरामको घोषणा गरेको थियो। तर, युद्धविरामको घोषणापछि पनि प्राविधिक रुपमा लेबनान र इजरायल युद्धको अवस्थामा छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ