arrow

पर्यटनमन्त्री पोखरेलको आरोप, ' दाताहरुले नेपाललाई हैटी बनाउन खोजे '

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
paryatan-mantri-pokhrel.jpg.jpeg
प्यूठान। पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले भूकम्पपछिको पुननिर्माणक्रममा दाताहरुले सहयोग गरेको बाहानामा सर्त राखेर नेपाललाई हैटी बनाउन खोजेको आरोप लगाएका छन्। नेपाल पर्यटन बोर्ड र सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालको संयुक्त आयोजनामा लुम्बिनीदेखि प्यूठानको स्वर्गद्धारीसम्म आन्तरिक पर्यटन प्रबद्र्धनको फार्म टुर अन्तर्गत प्यूठानको सदरमुकाम खलङगामा आयोजित कार्यक्रममा पर्यटनमन्त्री पोखरेलले सरकारले दाताहरुको सर्तलाई नमान्ने र दाताहरुलाई पनि सर्त नराख्न चेतावनी दिएका छन्। 
 
मन्त्री पोखरेलले भने,  ʽअहिले भूकम्पपछिको पुननिर्माणकाक्रममा दाताहरुले हामीलाई दिएको कि हामीलाई हैटी बनाउन खोजेको?ʼ उनीहरुको सर्त नमान्दा उनीहरुको पैसा नीजि घर बनाउन जान नसकेको भन्दै मन्त्री पोखरेलले दाताहरुले हामीलाई पछाडि पार्ने काम गरेको आरोप लगाए। उनले भने, ʽआज दाताहरुको जुन सहयोग छ त्यो हाम्रा लागि बाधक छ। दाताको सर्तको विरुद्ध यो सरकार जुध्ने, त्यसका लागि हाम्रा प्रधानमन्त्री तयार छन् ।ʼ स्वाभिमान अर्थतन्त्र र राष्ट्र बनाउन सरकार लागेको उनको भनाई थियो।
 
उनले भने, ʽहाम्रो जोड भूकम्पको पुननिर्माणमा छ, जुन चुनौतिपूर्ण छ, त्यस कार्यमा हामीले केहि समय घोत्लिनु पर्छ । मैले संयुक्त राष्ट्रसंघमा एडीबी, आइएमएफ संग ' हामीले भूकम्पछिको पुननिर्माण तिमीहरुले अगाडि सारेको सर्तका कारणले गर्दा हामीले सकेनौं भनेको छु।ʼ पोखरेलले भने । ʽअन्तर्राष्ट्रिय एजेण्डाको आधारमा अतिकम विकसित र विकासशिल राष्ट्रलाई बन्दी नबनाईयोस् । अहिले वल्र्ड बैंक जुन पैसा दिंदैछ हामीलाई त्यो पैसा विभिन्न स्कूलमा जाँदैछ, उनीहरुको सर्त पूरा गर्दा त्यो स्कूल बनाउन कति वर्ष लाग्ने हो ? मेरा यी भनाईले दाताहरु झस्किएका छन् । सरकार दाताहरुको कुनै सर्त मान्न तयार छैन ।ʼ
 
नेपालका हरेक पहाड भ्यूटावर
नेपालका हरेक पहाड आकर्षक भ्यूटावरको रुपमा रहेको भन्दै पर्यटक आकर्षित गर्ने ती पहाडहरुमा ४० फिट अग्ला भ्यू–प्वाईन्ट निर्माण सरकारको प्राथमिकतामा रहेको उनले बताए। आगामि वर्षमा विभिन्न प्रदेशमा ७ वटा भ्यू प्वाईन्ट निर्माण गरिने उनको भनाई थियो। मन्त्री पोखरेलले आगामि वर्षभित्रै संघीय संरचनाअनुरुपका प्रत्येक प्रदेशका पर्यटकीय गन्तव्यहरुको घोषणा गरिने बताएका थिए। कार्यक्रमकै अवसरमा मन्त्री पोखरेलले प्रदेश नं ५ अन्तर्गत स्वर्गद्धारी–जलजला पर्यटन विकास समिति बनाउने घोषणा पनि गरे। 
 
लुम्बिनी, पाल्पा, गुल्मीको रिडी–रेसुङगा, अर्घाखाँचीको सुपादेउराली–नरसिंहस्थान देखि प्यूठानको स्वर्गद्धारीसम्मका पर्यटकीय र त्यसको महत्वबारे सरोकार पक्षलाई झकझक्याउन फार्म टुरको आयोजना गरिएको हो। प्यूठान स्वर्गद्धारी विकास केन्द्र नेपालको समन्वयमा जिविस प्यूठान, प्यूठान उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ प्यूठान, गैर सरकारी संस्था प्यूठान, स्वर्गद्धारी यातायात व्यवसायी समिति, होटल व्यवसायी संघ प्यूठानको आयोजनामा भएको कार्यक्रमका अतिथि एवं फार्म टुरमा सदस्यहरुलाई मायाको चिनोस्वरुप स्वार्गद्धारी महाप्रभुको प्रतिमा प्रदान गरिएको थियो ।



नयाँ