काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले भातृसंस्थाहरुको महाधिवेशन समयमै गर्न निर्देशन दिएका छन्। सभापति देउवालाई सम्मान गर्न बुढानिलकण्ठ पुगेका नेपाल तरुण दलका प्रतिनिधिहरुलाई समयमै अधिवेशन गर्न देउवाले निर्देशन दिएका हुन्। देउवाले लामो समय प्रमुख भातृसंस्थाहरुको महाधिवेशन हुन नसक्दा नेतृत्व हस्तान्तरणका साथै पार्टीको आन्तरीक जीवनमा समेत असर पुग्ने उल्लेख गरे। ‘अब कुनै पनि बहानामा अधिवेशनमा ढिलाई गर्नुहुन्न’, सभापति देउवाले भने, महाधिवेशन गराउन पार्टीले पुरा सहयोग गर्छ।’
तरुण दलका अध्यक्ष एवम् सांसद उदय शमशेर राणाले विगतमा पार्टी नेतृत्वको असहयोगले महाधिवेशन गर्न समस्या भएको उल्लेख गर्दै अब तरुण दल महाधिवेशनमा जुटिसकेको बताए। उनले केही दिनमै दलको बैठक बोलाएर महाधिवेशनमा लाग्ने जनाए। ‘पार्टीले तोकेको समयभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी हामी लाग्छौ’, राणाले भने, महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न पनि आतुर छु।’
सभापतिमा देउवा निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले ६ महिना भित्र भातृसंस्थाहरुको महाधिवेशन गर्न निर्देशन दिएको थियो। देशको पुरानो र सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीका प्रमुख भातृसंस्थाहरुको ८ बर्ष देखि महाधिवेशन हुन सकेको छैन। विगतमा महाधिवेशनबाट आफु अनुकुल नेतृत्व नआउने देखेपछि तत्कालिन पार्टी नेतृत्वले भातृसंस्थाहरुको महाधिवेशन गराउन चासो नदेखाएको आरोप देउवा पक्षले लगाउँदै आएको थियो।
यति बेला पार्टी सभापतिमा देउवा विजयी भएपछि उनले भातृसंस्थाहरुको महाधिवेशनलाई प्राथमिकतामा राखेको उनी निकट नेताहरु बताउँछन्। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघ लगायत आधा दर्जन भातृसंस्थाहरुको महाधिवेशन हुन सकेको छैन।