arrow

अन्नपूर्ण दक्षिणमा लगातार हिमपहिरो

logo
प्रकाशित २०७२ चैत १४ आइतबार
annapurna.jpg.jpeg
म्याग्दी। म्याग्दीको उत्तरी नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण दक्षिण हिमालमा गत फागुनदेखि गएको हिमपहिरो अझै रोकिएको छैन । फागुन १० गतेदेखि अन्नपूर्ण दक्षिण क्षेत्रमा पटक पटक हिमपहिरो जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । दिनहुँ ठूलो आवाजमा पहिरो जाने गरेको र अन्नपूर्ण दक्षिण हिमालबाट बग्ने घलेम्दीखोलासमेत धमिलो भएको गुरुङले जानकारी दिए । 
 
निरन्तर पहिरो खस्न थालेपछि उक्त नदीको पानी मिसिएर कालीगण्डकी नदीको पानी समेत सेतो देखिएको छ । निरन्तरको हिमपहिराले नदीको बहाब बढेको छ । घलेम्दीखोलाको सतह बढेका कारण नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले निर्माण गरेको काठेसाँघु बगाएको आयोजनाका कम्पनी सचिव विमल रिजालले बताए । 
 
एक्याप र घलेम्दी जलविद्युत् आयोजनाबाट प्राविधिकको टोली पहिराको निरीक्षणका लागि आधार शिविरसम्म जाने तयारी गरे पनि प्रतिकूल मौसम र अत्यधिक धुलोका कारण सफल हुन नसकेको बताइएको छ । प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले निरन्तर हिमपहिरो खसे पनि कालीगण्डकी तटीय क्षेत्रमा कुनै प्रकारको जोखिम नरहेको जनाए । प्रतिकूल मौसमका कारण हेलिकप्टरबाट समेत त्यहाँ जान सक्ने अवस्था नभएको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ