काठमाडौं । काठमाडौं उपत्यका लगायत देशका केही स्थानमा फैलिएको तुँवालोले जनजीवन र अवाई उडानमा असर गरेको छ । तुँवालो कम गर्न हावा चल्नु पर्ने अर्थात् पानी पर्नु पर्ने मौसमविद्हरुको धारणा छ । काठमाडौं उपत्यकामा पश्चिमी वायुले सामान्य वदली भएकाले पानी पर्न सके एक–दुई दिनमै तुँवालोको समस्या हट्ने विज्ञहरुले बताएका छन् ।
काठमाडौं उपत्यकामा आइतबार (आज) बेलुकी छिटपुट वर्षा हुन सक्ने र सोमबार समेत वदलीको स्थिति रहने मौसमविद् शान्ति कंडेलले जानकारी दिइन् । कंडेलले भनिन्, ‘तुँवालो भित्रिएको एक हप्ता हुन लाग्यो, आकाशमा वादल पनि छ, वेगको हावा चल्न पाएको छैन, पानी परे वायुमा तैरिएको धुलो नियन्त्रण हुने र विस्तारै झुम्म भएको तुँवालो हट्न सक्छ ।’
तुँवालोले जनजीवनलाई मात्रै असर गरेको छैन, भिजिविलिटी कम रहेकाले अन्तर्राष्ट्रिय हवाई उडानलाई पनि असर गरेको छ । हाल विजिविलिटी २५ सय मिटर मात्रै छ । अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्स हेरेर २८ सय देखि माथि भिजिविलिटी आवश्यक पर्दछ ।
भारतको राजस्थान र सुख्खा खाडी क्षेत्रबाट धुलोका कणहरु वायुमा मिसिए आएको र काठमाडौंकै धुलो पनि हावामा मिलेपछी उपत्यकामा पनि यो समस्या सिर्जना भएको मौसमविद कंडेलले जानकारी दिइन् । उनले भनेकी छन्, ‘काठमाडौंमा फोहर, बाटो भत्काई आदी इत्यादी कारणले सामान्य आवा चल्दा धुलो उड्ने र वायुमा मिसिने क्रम छ ।’ उपत्यकामा मात्र नभई गोरखा, पोखरा, रसुवा लगायतका स्थानमा समेत तुँवालो आकाशमा तैरिएर बसेको छ ।
यस्तै, सुदूरपश्चिममा मौसममा बदली आएकाले वर्षा हुने तथा पश्चिमी वायु सक्रिय भए देशका अधिकांश स्थानमा क्षणिक वर्षा हुने भएपनि तत्काल बाक्लो पानी पर्ने सम्भावना नरहेको मौसमविद् बरुण पौडेलले बताएका छन् । पौडेलले हाम्राकुरासंग भने, ‘तुँवालो हट्न कि तीव्र गतिको हावा चल्नु पर्ने , कि पानी नै पर्नु पर्छ, तर, तत्काल मौसम सक्रिय भई वर्षा हुन सम्भावना कम छ, तुँवालो भित्रिएको एक हप्ता भयो ।’ वायुमण्डमा गडबडी भएरनै तुँवालोको समस्या आउने हो । पौडेलले थपे, ‘भारतीय वायुको उच्च चापीय क्षेत्र र स्थानीय वायुको न्यून चापीय क्षेत्रको उत्पन्न गडबडीले यो समस्या आएको हो ।’ यो सुधार हुन एक दुई दिन लाग्छ ।