काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौता र संयुक्त वक्तव्यपछि भारतमा तरंग पैदा भएको उसका पछिल्ला गतिविधिहरुले देखाएको छ । नेपालमा भन्दा भारतमा नेपाल र चीनबीचको सम्झौताको बारेमा व्यापक टीकाटिप्पणी भएपछि त्यसबारेमा भारतीय सरकारलाई थप जानकारी गराउन नेपालका लागि भारतीय राजदुत रणजित राय अचानक दिल्ली दौडिएका छन् ।
भारततीय सञ्चारमाध्यममा मोदीको नेपाल नीति असफल भएको र नेपाललाई जानाजान चीन तर्फ धकेलेको भनेर विश्लेषण हुन थालेपछि भारतीय विदेश मन्त्रालयले त्यस विषयमा छलफल थालेको छ । छलफलको लागि बोलाइएका राजदुत राय शुक्रबार नै नयाँ दिल्ली उडेका हुन् । उनले आइतबार दिनभरी भारतीय विदेशमन्त्री शुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभल र साउथ ब्लकका अधिकारीहरुसँग छलफल गरेका छन् । अधिकारीहरुले राजदुत रेसँग नेपालले चीनसँग गरेको सम्झौता, त्यसको नेपालमा प्रभाव, भारत विरोधी गतिविधीको विषयमा विशेष रुपमा छलफल गरेका थिए ।
स्रोतका अनुसार भारतले बाहिर आएको नेपाल र चीनबीचको १० बुँदे सम्झौता र १५ बुँदे संयूक्त वक्तव्यमा खासै आपत्ति प्रकट नगरे पनि त्यसभित्रका अन्तर्वस्तुको विषयमा बढी चासो राखेका थिए । भारत अहिले प्रधानमन्त्रीको चीन भ्रमणपछि नेपालमा त्यसले पार्ने चीनिँया प्रभाव र भारत विरोधी गतिविधीमा पार्न सक्ने प्रभावको शंकाले चिन्तित रहेको देखिएको छ । राजदुत रायले सोमबारसम्म निरन्तर छलफल गरि सरकारी धारणा लिएर सोमबार साँझसम्म काठमाडौ फर्कने कार्यक्रम छ । नेपालमा भने राजदुत रायले तराई मधेशका आन्दोलनकारीलाई उचालेको भन्दै विशेष गरी एमालेका नेताहरुले देश निकाला गर्ने सम्मका माग राखेका छन् ।