arrow

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

logo
रासस,
प्रकाशित २०७६ साउन ४ शनिबार
madyapahadimarga.jpg.jpeg

पर्वत। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ। मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ। 

आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताए। “बाटो बन्द भएमा खुलाउनेबाहेक अरु काम हुँदैन”, थापा मगरले भने, “अरु काम मौसमले गर्न दिएन।” उनले वर्खामा काम गर्दा गुणस्तर पनि नहुने र जोखिम पनि हुने सुनाए। 

अहिले वर्षा भइरहेकाले ठाउँठाउँमा पहिरो जाने समस्या देखिएको छ। सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरु भने तयारी अवस्थामा राखिएको छ। यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ। सदरमुकाम कुश्मा बजार क्षेत्रको चार किलोमिटरबाहेक अन्य खण्डमा कालोपत्र गर्ने सबै संरचना तयार भएको छ। करीब दुई किलोमिटर खण्ड कालोपत्र भइसकेको छ।

पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दासमेत यही लोकमार्ग हुँदै आवातजावत गर्दै आएका छन्। दैनिक सयौँ सवारी चल्ने सडकमा अधिकांश स्थानमा पहिरो खस्ने समस्या देखिएको छ। 

तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित

पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरी विवाद शुरु भएको छ। 

सहमति विपरीत आयोजना प्रवद्र्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन खुलाएपछि कर्मचारी र आयोजनाका बीचमा विवाद शुरु भएको हो। कर्मचारी स्थायी गर्ने विषयमा असार ९ गते दुवै पक्षबीचमा भएको सहमति उल्लङ्घन गर्दै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन्। 

जिल्ला प्रशासन कार्यालयकोे पहल तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत् कर्मचारी र व्यवस्थापनका बीचमा २३ पदमा विज्ञापन खुलाउने र कार्यरत कर्मचारीलाई  प्राथमिकता दिने सहमति भएपछि तीन हप्तादेखि रोकिएको निर्माण कार्य सञ्चालन भएको थियो। तर मोदी इनर्जी प्रालिले बिहीबार खुलाएको विज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन्।

जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आयोजनाको शुरुआतदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिष्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कर्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ। आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई रु एकलाख १५ हजारका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको थियो। 

अहिले २३ पदमा विज्ञापन खुलाइएपनि कार्यरत कर्मचारीले आवेदन दिन नसक्ने र सबैजसो पदमा प्राविधिक पद भएकाले सहमति उल्लङ्घन भएको कर्मचारी सौरभ पौडेलले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ