arrow

विषादी परीक्षणविना नै नेपाल भित्रिँदै अरबौं रुपैयाँको चिनियाँ स्याउ 

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
china-apple.jpg

काठमाडौं। नेपालमा वर्षेनी अरबौं रुपैयाँको चिनियाँ स्याउ विषादी परीक्षण विना नै भित्रिने गरेको छ। नेपालमा उत्पादित तरकारी र भारतबाट आयातित तरकारीमा व्यापक मात्रामा विषादी रहेको भनेर चर्चा चलिरहेको बेलामा चीनबाट आयातित फलफूल भने परीक्षण विना नै बजारमा जाने गरेको पाईएको हो। चीनसँगको उत्तरी नाका रसुवागढीबाट आयात हुनेदेखि भारत हुँदै आयात हुने स्याउहरु उपभोक्तासम्म आईपुग्दा कुनैपनि चरणको विषादी परीक्षण हुने गरेको छैन।

आर्थिक वर्ष २०७५-७६ को पहिलो ८ महिनाको तथ्यांक निकालेको रसुवागढी क्वारेन्टाईन कार्यालयका अनुसार पहिलो ८ महिनामा मात्रै एक अर्ब ८८ करोड रुपैयाँ बराबरको चिनियाँ स्याउ आयात भएको छ। कार्यालयका अनुसार पहिलो ८ महिनामा मात्रै २३ हजार ६ सय ६ मेट्रिक टन अर्थात दुई करोड ३६ लाख पाँच हजार पाँच सय ५९ केजी स्याउ आयात भएको थियो। अघिल्लो आर्थिक वर्षको साउन महिनासम्म ११ लाख ४२ हजार ६ सय २९ केजी स्याउ आयात भएको थियो।

बीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष कुमार महतो बीरगञ्ज भन्सारबाट पनि चिनियाँ स्याउहरु भित्रिने गरेको बताउँछन्। उनले चालू आर्थिक वर्षको कूल चिनियाँ स्याउ आयातको विवरण तयार पारिनसकेको भन्दै पछिल्लो समय चीनबाट आउने स्याउको मात्रा पनि सो भन्सारमा बढेको छ।

काठमाडौंको बजारमा विक्री हुने अरु सबै स्याउहरुमा विषादी परीक्षण गर्ने गरेको केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत्को कालीमाटी फलफूल तथा तरकारी बजार ईकाईले चिनियाँ स्याउको भने परीक्षण गर्ने गरेको छैन। आवश्यक परेको खण्डमा बजारमा विक्री भईरहेको फलफूलको समेत नमूना परीक्षण गर्ने गरेको भएपनि अहिलेसम्म चिनियाँ स्याउहरुमा विषादी परीक्षण नभएको ईकाईका प्रमुख नायव प्राविधिक सहायक जागेश्वर शर्माले जानकारी दिए।

उनका अनुसार भारत र नेपाल बाहेक अरु मुलुकबाट आएका तरकारी तथा फलफूहरुको विषादी परीक्षण हुने गरेको छैन। चीनबाट स्याउलगायतका केही फलफूलहरुबाहेक तरकारीहरु आयात हुने गरेको छैन। एक वर्षको आँकडा हेर्दा रसुवागढी भन्सारबाट आयात हुने स्याउहरु हरेक महिना बढ्दो मात्रामा आयात हुने गरेको छ। क्यारेन्टाईन कार्यालय रसुवाका अनुसार साउनदेखि चैतसम्मको आँकडालाई हेर्दा २ करोड २४ लाख किलो स्याउ बढी आयात भएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सूचना अधिकारी प्रदीप चन्द्र भट्टराईले कुनैपनि प्रयोगशालाबाट चिनियाँ स्याउहरुको विषादी परीक्षण नहुनेगरेको स्पष्ट पारेका छन्। उनका अनुसार रसुवागढी भन्सार कार्यालयमा त परीक्षणको लागि कुनैपनि प्रयोगशाला नै छैन। काठमाडौंमा पनि विषादी परीक्षण हुने गरेको छैन। भट्टराईका अनुसार अहिलेसम्म झापाको विर्तामोड, सर्लाहीको नवलपुर, पोखरा, नेपालगञ्ज, अत्तरिया र कालीमाटी तरकारी बजारमा विषादी परीक्षण प्रयोगशाला रहेको छ। अहिले विराटनगरमा पनि भन्सारमा नै यस्तो प्रयोगशाला निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ